बाल अधिकार सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

भाद्र २९, २०७४ | काठमाडौं
सरकारले बाल अधिकार सम्बन्धी ऐन ल्याउने तयारी गरेको जनाएको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बाल अधिकार सम्बन्धी ऐन ल्याउन गृहकार्य भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय बाल दिवसको अवसरमा मन्त्रालयले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले मस्यौदाको काम भईरहेकाले चाडै विधेयक संसदमा प्रस्तुत हुने बताउनुभयो ।
बालशोषण, बालबिवाह लगायत विकृतिको न्युनिकरण गर्न प्रतिवद्ध रहेको मन्त्री कोइरालाको भनाई थियो । कार्यक्रममा संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले बाल अधिकार सम्बन्धी विधेयक संसदमा छिटो पेश गर्न मन्त्रीलाई आग्रह गर्नुभयो । आफुहरुको अथक प्रयासबाट पनि बाल अधिकार सम्बन्धी ऐन २०४८ को संशोधन हुन नसकिरहेको भन्दै सभापति झाले आफ्नो कार्यकालमा सो ऐन ल्याउन मन्त्रीलाई आग्रह गर्नुभयो ।
केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालबालिकाको क्षेत्रमा सरकारले विभिन्न प्रगति गरेपनि सन्तोषजनक नरहेको बताउनुभयो । धितालका अनुसार बालश्रम ४१ प्रतिशतबाट ३४ प्रतिशतमा झरेको, रिब ९७ प्रतिशत बालबालिका प्राथमिक तहको शिक्षाको पहुँचमा रहेको सरकारी तथ्याङ्क छ । बालमैत्री शासन बालअधिकारको सम्मान भन्ने नाराका साथ मुलुकभर आज विभिन्न कार्यक्रम गरी दिवस मनाईंदैछ ।