राष्ट्रिय महिला फुटबलमा एपीएफ र रौतहट भिड्दै

वैशाख १८, २०८२ | काठमाडौं
बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । दोस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लबले रौतहट जिल्ला फुटबल संघको टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
फाइनल प्रवेशका लागि नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको मैदानमा दिउँसो चार बजे एपीएफ र रौतहट आमनेसामने हुनेछन् । उपाधि दाबेदार एपीएफ आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ ।
रौतहट पनि विभागीय टोलीको चुनौती पन्छ्याउँदै फाइनल पुग्न चाहन्छ । आजको खेलको विजेताले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा क्लबलाई १–० गोलले हराएर उपाधि नजिक पुगेको हो । एपीएफले पद्मा स्पोट्र्स क्लबलाई ४–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । रौतहटले भने मकवानपुरको रिगल रिसोर्ट एन्फालाई हराएर सेमिफाइनलमा पुगेको हो ।
फाइनल खेल बैशाख २० गते हुनेछ । प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँको दरले पुरस्कृत गरिने आयोजक नुवाकोट जिल्ला फुटबल संघले जनाएको छ ।