पोखरामा लायन्स कप अन्तर्राष्ट्रिय भलिबल आज सुरु हुँदै

वैशाख १८, २०८२ | पोखरा

राष्ट्रिय खेल भलिबल र पयर्टन प्रवद्र्धनको उद्देश्यले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको इन्डोर भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा बिहीबारदेखि प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । २ विदेशीसहित ६ टिम प्रतियोगितामा सहभागी हुने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । 

३ विभागीय, गण्डकी प्रदेश, भारत र इरानका टिम प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी ६ टिमलाई २ समूहमा विभाजन गरेर लिग खेलाइनेछ । लिगपछि दुवै समूहको शीर्ष दुईमा रहने टिमले सेमिफाइनल खेल्नेछन् । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन कभर्ड हलमा प्रकाश मिलाउनेसहित प्रतियोगिता सञ्चालनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ, उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ रुपैयाँ र विधागततर्फ उत्कृष्ट सबैलाई समान ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ । फाइनल वैशाख २२ गते हुनेछ ।


प्रतिक्रिया