रामजानकी रंगशाला निर्माणमा गुठी तगारो

वैशाख १८, २०८२ | जनकपुर
जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउदेश्यी अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा गुठी संस्थान तगारो बनेको छ । रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर निर्माण प्रकृयामा रहेको मधेश प्रदेश सरकारलाई गुठी संस्थानले पत्र लेखेर जग्गाको चर्को लिज भाडा माग गरेको छ ।
जनकपुर–१४ रजौलस्थित गुठी संस्थानको १७ बिघा जग्गामा मधेश प्रदेश सरकारले आफ्नै लगानीमा रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने तयारी थालेको छ । गुठीको सो जग्गा २५ वर्षका लागि लिजमा लिएर रंगशालाको निर्माणको काम यसै वर्षदेखि थाल्ने प्रदेश सरकारको योजना छ । तर, गुठी संस्थानले गत साता मधेश प्रदेश सरकारलाई पत्र लेख्दै जग्गा लिजमा दिँदा वार्षिक ४९ लाख ९० हजार रुपैयाँ तिनुपर्ने र प्रत्येक वर्ष लिज रकम १० प्रतिशतले वृद्धि गर्नुपर्ने माग गरेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले रंगशाला निर्माणका लागि प्रयोग हुने जग्गाको लिज रकम गुठी संस्थानले चर्को तोकेकोमा आक्रोस पोख्नुभयो । उहाँले रंगशाला निर्माणमा गुठी संस्थानको पछिल्लो पत्रले बाधा पुर्याउने काम गरेको बताउनुभयो । ‘वार्षिक करीब ५० लाख रुपैयाँ लिज भाडा मागिएको छ,’ मधेश प्रदेशका खेलकुद मन्त्री जयसवालले कान्तिपुरसँग भन्नुभयो, ‘वार्षिक यतिधेरै पैसा लिजमा नै खर्चिनुपर्ने अवस्थामा हामी छैनौं । रंगशाला निर्माण, खेल र खेलाडीको भविष्य, अभ्यास र प्रदर्शनसँग जोडिएकाले गुठी संस्थान यस मामिलामा लचक हुनुपर्छ ।’
रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको जग्गा लिजमा लिने प्रकृयामा गत साता काठमाडौंस्थित गुठी संस्थानको मुख्यालय पुगेका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहसँग भने विवाद नै भएको थियो । ‘रंगशाला बनाउन हामीलाई चौतर्फी दबाब छ,’ जनकपुरका नगर प्रमुख साहले भन्नुभयो, ‘तर, गुठीले जग्गा हस्तान्तरणमा आलटाल गर्दै आएको छ । लिज रकम चर्को भयो भनेर भन्दा मेरो चर्काचर्की नै परेको थियो । मैले त्यहीबेला मुख्यमन्त्री सतिशकुमार सिंहलाई फोन गरेर गुठीको नियतबारे प्रष्ट पारेको थिए ।’ यसअघि, गुठी संस्थानले वार्षिक ९ लाख रुपैयाँमा राष्ट्रिय खेलकुद परिषद्संग सो जग्गा लिजमा दिने सम्झौता गरेको थियो ।
खेलकुद मन्त्री जयसवालका अनुसार गुठी संस्थानको सो जग्गा मधेश प्रदेश सरकारले नै लिजमा लिएर रंगशालाको निर्माण थाल्ने तयारीमा छ । तर, गुठी संस्थानको चर्को लिज भाडाले समस्या थपिएको उहाँले बताउनुभयो । ‘गुठी कानून बनाउने अधिकार प्रदेश सरकारकै छ,’ खेलकुद मन्त्री जयसवालले भन्नुभयो, ‘लिज भाडा चर्को भयो भने गुठी संस्थानलाई पत्र लेख्दै छौं । सुनुवाई नभए प्रदेश सरकारले गुठी विधेयक ल्याएर भएपनि त्यो जग्गा आफ्नो अधिनमा ल्याएर रंगशाला बनाइ छाडने छ ।’
रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला बनाइने भनिएको गुठीको जग्गामा हाल क्रिकेट मैदान छ । त्यो क्रिकेट मैदानमा तीन वटा ग्रास पिच बनेको छ । यसअघि, जय ट्रफीको केही खेल यही मैदानमा खेलाइएको थियो ।
मेयर कप, सहिद क्रिकेट प्रतियोगिता लगायत ठूला खेल यहाँ खेलाइसकिएको छ । रामजानकी प्रस्तावित रंगशालामा क्रिकेट, फुटबल, हक्कीको छुट्टाछुट्टै स्टेडियम, इन्डोर कभर्डहल, कब्बडी, खोखो र कुस्ती खेलको ट्रेनिङ सेन्टर निर्माण गर्ने डिपीआर प्रदेश सरकारले तयार पारेको छ ।