राष्ट्रिय सभा सदस्यको पदावधि निर्धारण हुँदै

असार ४, २०७५ | काठमाडौं
राष्ट्रिय सभाका ५९ जना सदस्यहरुको कार्यकाल गोला प्रथाद्वारा आज टुंगो लगाईदैछ । राष्ट्रिय सभा नियमावली पारित हुन समय लागेपछि पहिलो बैठक बसेको साढे तीन महिनापछि मात्र सदस्यहरुको कार्यकाल टुंगो लाग्न लागेको हो ।
आज बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा ५९ जना सांसदले चिठ्ठा तानेर आफ्नो कार्यालय तय गर्नेछन् । संघीय संसदका महाचिवको नेतृत्वमा निर्वाचन आयोगका सहसचिव, कानून मन्त्रालयका प्रतिनिधि, संघीय संसदको कानून शाखाका प्रतिनिधि र सचिवालयका कर्मचारीहरुको टोलीले गोला प्रथा गर्ने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो । संघीय संसद सचिवालयका उपसचिव दशरथ धमलाका अनुसार गोला प्रथाद्वारा १९ सदस्यको २ वर्ष, २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकालको टुंगो लाग्नेछ । नेपालको संविधानको धारा ८६ मा राष्ट्रिय सभा सदस्यको कार्यकालबारे उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहाल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको सांसद पदको कार्यकाल पनि सोही गोला प्रथाबाट निर्धारण हुनेछ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाको प्रतिनिधित्व छ भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्य छन् ।
प्रदेशबाट प्रतिनिधित्व गरेका ८ मध्ये खुला ३, महिला ३, दलित १ र पिछडिएका वा अपांगता भएकामध्येबाट एक जनाको प्रतिनिधित्व छ । सोही क्लष्टरका आधारमा प्रतिनिधित्व हुने गरी छुट्टाछुट्टै समुह बनाएर सांसदहरुको पदावधि निर्धारण हुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । हरेक प्रदेशबाट खुला र महिला ३–३ जनाको पदावधि २, ४ र ६ वर्षको कायम हुनेछ ।
राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये एकएकको २, ४ र ६ वर्ष पदावधि तोकिने छ । ७ जना दलित सांसदमध्ये २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष कायम हुनेछ । अपांगता भएकामध्येबाट पनि २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष पदावधि कायम हुनेछ । शून्य वर्षको गोला तान्ने अपांगता र दलित समूहका २ जनाबीच पुन: गोलाप्रथा गरेर एक जनाको ४ र अर्कोको ६ वर्ष पदावधि कायम हुने सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो ।