एमएफएन बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई सम्मान गरिने

श्रावण २१, २०८२ | बझाङ
बझाङको तलकोट गाउँपालिकाले म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पुरस्कार दिने घोषणा गरेको छ । गाउँपालिकाले रवीन्द्र लाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने जनाएको हो ।
गाउँपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले रवीन्द्रको लगन र मिहिनेतको कदर गर्न सम्मान गर्ने निर्णय गरिएको बताउनुभयो । शनिबार भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइटको बेन्टमवेटमा रवीन्द्रले भारतीय विश्व च्याम्पियन चुनरेङ कोरेनलाई हराएर उपाधि जितेका थिए ।
रविन्द्र मिक्स मार्सल आर्टस च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् । आक्रामक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आटर्समा रवीन्द्रले तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए ।
रवीन्द्रले गरेको लगातारको प्रहारपछि कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै उनलाई टीकेओद्वारा विजेता घोषित गरेका थिए । यस जितसँगै रवीन्द्रको प्रोफेसनल रेकर्ड ८–१ पुगेको छ ।
भारतीय च्याम्पियन रहेका कोरेनको लगातार पाँच पटकको जितलाई रवीन्द्रले पूर्णविराम लगाएका हुन् । शक्तिशाली रेस्लिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रको शान्त, संयम र कुशल रणनीतिका अगाडि टिक्न सकेनन् ।