सहकारी पीडितले गृहमन्त्रीलाई आज भेट्दै

श्रावण १९, २०८२ | काठमाडौं

सहकारीको बचत हिनामिना गरी फरार रहेका जीबी राईलाई तत्काल पक्राउ गर्न माग गर्दै पीडित बचतकर्ताले आज गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै छन् ।

राई संस्थापक र सञ्चालक रहेको चितवनको भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासहित विभिन्न पाँच सहकारीका बचतकर्ताले आज गृहमन्त्री रमेश लेखकलाई भेट्न लागेका हुन् ।

यसअघि हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भेटेर उनीहरुले सहकारीको बचत फिर्ता नपाएका पीडितको समस्या समाधान गर्ने सम्बन्धमा विभिन्न उपाए र माग सहितको ज्ञापनपत्र बुझाएका थिए ।

भरतपुरको साहारा चितवन, बुटवलको सुप्रिम सहकारी, पोखराको सूर्यदर्शन, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीका पीडित बचतकर्ताले विभिन्न निकायका पदाधिकारीलाई भेटेर आफ्नो माग राखेका छन् ।

बचत रकम हिनामिना गरी फरार भएका राईलाई तत्काल समाउन र पीडित बचतकर्ताहरुले पैसा फिर्ता पाउने वातावरण बनाउनुपर्ने उनीहरुको माग छ ।

साहारा सहकारीमा जीबी राईसहित ३८ जनालाई प्रतिवादी बनाए पनि हालसम्म दुई जना मात्रै पक्राउ परेको र जीबीसहित अन्य फरार रहेको हुँदा सबैलाई पक्राउ गर्न उनीहरुले माग गरेका छन् ।

त्यसैगरी सहकारीबाट ऋण लिएका अन्य ऋणिलाई कार्यविधि तयार गरी ऋण बुझाउन आह्वान गर्ने र ऋण चुक्ता गर्ने ठाउँ पनि तोक्न माग गरिएको चितवन साहारा बचत पिडित संघर्ष समितिका संयोजक शालिकराम दुवडीले बताउनुभयो । 


प्रतिक्रिया