जाजरकोटमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो (अपडेट)

श्रावण २०, २०७५ | जाजरको

अविरल वर्षपछि आएको पहिरोका कारण जाजरकोटको भेरी नगरपालिका ३, ठाँटीबजारमा ९ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एक महिला र ८ बालबालिकाको मृत्यु भएको हो । सो पहिरोमा परेर एक जना घाईते भएका छन् । एक सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय तीर्थराज बोहरा र जीतबहादुर सुनारको घर पुरिंदा उनीहरुको मृत्यु भएको हो ।

शनिवार रातिको लगातारको बर्षातपछि पहिरोमा पुरिएर घरमुली तीर्थ राज बोहराकी छोरी ५ बर्षीय नजिता बोहरा, उक्त घरमा डेरा गरी बस्ने भेरी नगरपालिका ६, गंगटीयाका लालबहादुर लुहारकी २५ बर्षीय श्रीमति सितल, उनकै छोरीहरु ९ बर्षीय भगवती, ६ बर्षीय रञ्जना र ३ बर्षीय मनिसाको मृत्यु भएको हो ।

त्यस्तै पहिरोमा पर्दा जीतबहादुरको घरमा डेरा गरी बस्ने कुशे ५, खुर्पाका प्रेमबहादुर परियारका १२ वर्षीया छोरा नरेन्द्र, कुशे ६ भार्मका कृष्णबहादुर परियारका १० वर्षीय छोरा नविन, नलगाड नगरपालिका ३ करुवाका जीतबहादुर परियारका ५ वर्षीय छोरा दशरथ र १२ वर्षीय छोरा गोविन्दको मृत्यु भएको छ ।

पहिरोले तीर्थराजको घरमा डेरा गरी बस्ने एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

पहिरोले घर भत्केपछि पुरिएका ३५ वर्षीय लालबहादुरको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको थियो । कम्मर र हातमा चोटपटक लागेका उनको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । उद्धार ढिलाई हुँदा पहिरोमा पुरिएका अन्य सबैको ज्यान बच्न नसकेको थाप्लेका ओमप्रकाश सिंह राठौरले बताए ।

पहिरो खसेको डेढ घण्टा पछि मात्र सेना प्रहरी लगाएतको उद्धार टोली घटनास्थल पुगेको उनले बताए । घटना स्थलदेखि २ सय मिटरमा प्रहरी चौकी, १ किलोमिटरको दूरीमा जिल्ला प्रहरी तथा सशस्त्र प्रहरी, ५ सय मिटरको दूरीमा जिल्ला प्रशासन कार्यालय र २ किलोमिटर टाढा नेपाली सेनाको ब्यारेक भएपनि उद्धारमा ढिलाई भएको उनले बताए ।

पहिरो खसेको ५ मिनेटमै जताततै खबर भएपनि सम्बन्धित पक्ष घटनास्थलमा आउन ढिला भएको उनले बताए । उद्धारकर्मीलाई पहिरोमा पुरिएकाको शव निकाल्न २ देखि ८ घण्टा लागेको राठौरले बताए । पहिरोको कारण ठाँटीबजारका किशोर खत्री, कर्ण खत्री, कर्णबहादुर शाही, प्रेमबहादुर शाही, प्रकाश विक, कमल रावत, अर्जुन पुन, आशे कामी, कुमारो नेपाली, ओमजंग शाह, तेज विक्रम शाह लगायतका १७ घर उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताउनुभयो ।

लगातारको वर्षपछि पहिरो खस्ने क्रम जारी रहनु र हिलाम्मे माटोका कारण उद्धारमा ढिलाई भएको खतिवडाले बताउनुभयो । पहिरोमा पुरिएका मृतकको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय लगायतले उद्धार गरेको निमित्त प्रजिअ खतिवडाले बताउनुभयो ।

खलंगा बजार क्षेत्रमा ढल निकासको ब्यवस्था नहँुदा, मापदण्ड विपरीत जथाभावी घर बनाउँदा, घरको घडेरी खन्दा निस्केको माटो जथाभावी फाल्दा, वनजंगल विनास गर्दा, डोजरले सडक खन्दा, जोखिमयुक्त स्थानमा ग्याबीङ्ग तथा वाल नलगाउंदा, पहिरोको जोखिम भएको ठाउँमा बस्ने स्थानीय बासिन्दालाई पूर्व सचेत नगर्दा यति ठूलो मानवीय क्षति भएको नागरिक अगुवा केदारबहादुर शाहले बताउनुभयो ।

सदरमुकाम खलंगामा पहिरोको जोखिम बढ्दै गएको जानकारी हुँदाहुँदै पनि सम्बन्धित निकायले जोखिम न्युनीकरण तर्फ ध्यान नदिई वेवास्ता गरेको उहाँको भनाई छ । जसको परिणाम वर्षेनी जनधनको क्षति हुने गरेको उहाँले बताउनुभयो ।

खलंगालाई चारैतिर पहिरोले घेरेको उहाँले बताउनुभयो । अविरल वर्षासंगै सदरमुकाम खलंगा भित्रको सडक भासिन गई बजार जोखिममा परेको छ । खलंगा बजारबाट बाहिर निस्कने र आउने बाटो समेत नभएको उहाँल।े बताउनुभयो । खलंगाबजारका ६५ घर पहिरोको उच्च जोखिममा परेको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया