चिन्तारहित भई सकारात्मक चिन्तन गर्नुस्, जिउँन आनन्द लाग्छ : शताब्दी पुरुष जोशी

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३०, २०७६ | ललितपुर

- मान्छेको मूल्याङकन उसले व्यतीत गरेको आयुबाट होइन, त्यसबीचमा समाजमा उसले कायम गरेको उदाहरणबाट हुन्छ । बाँच्ने क्रममा काटेका हिउँद र बसन्तभन्दा व्यक्तिले दर्शाएको मूल्य र मान्यताले उसको उचाइ कायम हुन्छ । वयले पञ्च २० टेकेका सत्यमोहन जोशी नेपाली समाजको आदर्शका त्यस्ता धरहरा हुन् जो दिनप्रतिदिन चुलिंदो छ । आफ्नो सक्रियताको एक मात्र राज सकारात्मक चिन्तन हो भन्नुहुन्छ जोशी । 

बाबु शंकरदास जोशी र आमा राजकुमारीका सन्तानका रूपमा वि.सं. १९७७ बैशाखमा पाटनको बखुम्बहालमा जन्मिएका जोशीको ऊर्जाशिल उमेर मुलुकका विभिन्न गाउँ बस्तीमा बित्यो, जहाँ लोक कला संकृतिको रसपान गर्ने मौका मिलेको थियो जोशीलाई ।त्यही मौलिकताबाट उठेका जोशीको विचार, व्यवहार र जीवनशैलीमा नेपालीपनको सुगन्ध आउँछ । आफ्नो जीवनको एक सयौं वर्षमा टेक्दासम्म संस्कृतिको विकासमा जोड दिँदै आएका जोशी भाषा र संस्कृतिको उत्थानबिना मुलुकको विकास अलिनो हुने तर्क गर्नुहुन्छ ।  भाषा र संस्कृतिको उत्थानबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउँदै जोशीले भन्नुभयो,  'हाम्रा प्रधानमन्त्रीज्यूले समृद्ध नेपालको कुरा अघि सार्नुभएको छ,  तर ठूला–ठूला घर सडक बनाउँदैमा मुलुक सम्बृद्ध हुँदैन, समृद्ध मुलुकको परिकल्पना पूरा गर्न भाषा र संस्कृतिको समेत उत्थान हुनुपर्छ ।'

  सन्तेषम् परम् सुखम्को सिद्धान्त आत्मसात गरेका जोशी राष्ट्रका नाममा आफूले गरेको कर्मको प्रतिफल प्राप्त गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, 'यो भएन, त्यो भएन, भनेर चिन्ता नलिनुस् बरु चिन्तारहित भएर चिन्तन गर्नुस्, त्यसले रोग लाग्दैन र लामो समय बाँच्न सकिन्छ ।' 

जोशीले ३ पटकसम्म मदन पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले वि.सं. २०१३ मा लोक संस्कृतिमा मदन पुरस्कार प्राप्त गर्नुभयो । वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक समेत हुनु भएको थियो । वि.सं. २०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गर्नुभयो, जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार प्राप्त गर्नुभयो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात क्रिशत्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरिएको थियो ।  सरकारले पनि उज्जवल कीर्तिमान राष्ट्र दीपले उहाँलाई सम्मान गरेको छ । जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासंग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

जीवनको उत्तरार्द्धमा पनि उक्तिकै सत्रिय जोशीको जीवनचक्र मात्रै हैन शैली पनि अनुपम र अलौकिक छ । त्यसैले पनि उहाँको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नेहरु प्रशस्त छन् ।   नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगतमान गुरुङ् जोशीको योगदान वाङयमय क्षेत्रको मात्रै नभई , सम्पूर्ण राष्ट्रको सांस्कृतिक उत्थानका लागि महत्वपूर्ण भएको बताउनुहुन्छ । 

मुलुकभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय जगतसम्म जोशीको कीर्ति फैलिएको तर्क भारतका राजदूत मञ्जिभसिंह पुरीले गर्नुभयो । सांस्कृतिक विकासका लागि नेपाल र भारतबीच जोशीको योगदान सुन्दर पुल सरह भएको उहाँले बताउनुभयो । 

आफूलाई संस्कृतिको पूजारी भन्न रुचाउने जोशी वास्तवमै जिउँदो इतिहास हुन् । समाज चिन्न खोज्नेहरुका लाई विश्वविद्यालय । सँस्कृति र रीति रिवाज बुझ्न चाहनेका लागि गुरुकुल । आफ्नो जीवनलाई नै उदाहरणका रुपमा यही समाजमै समर्पित गरेका युगपुरुष सत्यमोहन जोशीलाई जन्मोत्सवको शुभकामना । 

शताब्दी वर्षको अवसरमा बर्षभरी नै विभिन्न कार्यक्रम

जोशीको शताब्दी वर्षको अवसरमा ललितपुर महानगरमा आज सार्वजनिक बिदा दिएको थियो ।  महानगरले आजदेखि २०७७ वैशाख ३० गतेसम्म गरी बर्षभरी नै विभिन्न कार्यक्रम आयोजना गरी जोशीको जन्मशताब्दी महोत्सव मनाउने जनाएको छ । सत्यमोहन जोशीको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरिएको छ । जोशीको शताब्दी महोत्सवको पहिलो दिन आज उहाँलाई पाटनको मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव र्‍याली गरी बाजागाजा सहित नगरपरिक्रमा गराइएको थियो ।  नगर परिक्रमापछि जोशीलाई विशेष सम्मान समेत गरिएको थियो । 

 


प्रतिक्रिया