निजीलाई नियन्त्रण होइन सामुदायिकलाई गुणस्तरीय बनाएर शिक्षा क्षेत्र उकास्छौँ : प्रधानमन्त्री

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६ | काठमाडौं

- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी शिक्षाको विपक्षमा नभई सामुदायिक शिक्षाको गुणस्तर उकास्न क्रियाशिल रहेको बताउनुभएको छ  । कान्तिपुर हिसान एडु फेयरको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी शिक्षाको विपक्षमा नभई सामुदायिक शिक्षालाई प्रभावकारी र उपयोगी बनाउनमा व्यस्त रहेको स्पष्ट पार्नुभएको हो । 

उहाँले भन्नुभयो, “निजी शैक्षिक संस्थालाई हामी जबरजस्ती बन्द गर्न भन्दैनौँ, तर सामुदायिकको गुणस्तर उकासेर निजीमा जानै नपर्ने वातावरण सिर्जना गछौँ ।” निजी क्षेत्रले विकासको अगुवाई गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा पनि यो लागु हुने बताउनुभयो । उहाँले भन्नुभयो,  "शिक्षा विकासका लागि सार्वजनिक र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्छ र यो कसैलाई अलमलाउन भनेको कुरा होइन, सरकार यही अनुसार अघि बढ्छ ।"

 

 

निजी क्षेत्रको लगानी बढे शिक्षामा राज्यलाई धेरै भार नपर्ने उहाँको तर्क थियो। "अहिले राज्यले सबैभन्दा बढी लगानी शिक्षामा गरेको छ। जहाँ निजी क्षेत्रले लगानी गर्छ, त्यहाँ राज्यलाई खुकुलो र सजिलो हुन्छ, उहाँले भन्नुभयो, हामी संघीय सरकारले छुट्टाएको बजेटलाई मात्र हिसाब गछौैँ, तर प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र र अभिभावकले गरेको लगानी जोड्दा सबैभन्दा बढी खर्च शिक्षामा भएको छ।" प्रधानमन्त्री ओलीले शिक्षामा निजी क्षेत्रको योगदान  प्रशंसायोग्य भएको तर्क समेत गर्नुभयो, उहाँले भन्नुभयो, "राज्यको शिक्षामा अरुले लगानी गर्नै हुँदैन भन्ने हो र ? निजीले दिएको शिक्षा चाहिँ अलि नमिलेको, आंशिक अनि भाँचिएको जस्तो हुने हो ?  हामी त भन्छौँ, "सक्नुहुन्छ भने सामुदायिक विद्यालयहरु पनि लिएर चलाउनुहोस् ।"

प्रधानमन्त्री ओलीले भन्नुभयो, "मैले भनेको छु, सरकारले निजी क्षेत्रलाई खतरा पैदा गर्छ, खतरा कसरी खडा गर्छ भने, सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाएर, जब निशुल्क रुपमा सामुदायिक विद्यालयमै आफूले चाहेको विषय त्यो पनि गुणस्तरीय पाउँछ भने को जान्छ निजीमा ? उहाँले थप्नुभयो, "त्यसपछि हामीले बन्द गर्नै पर्दैन, आफैँ बन्द हुन्छ, तसर्थ तपाईहरुलाई संकटमा पार्ने चाहिँ मेरो लक्ष्य हो, तर नियन्त्रण गरेर होइन, प्रोत्साहन गरेर, निजीलाई च्यापेर थिचेर होइन, सामुदायिकलाई उत्थान गरेर ।"

शिक्षा,स्वास्थ्य,विकास जस्ता क्षेत्रमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सरकारले लगानीको सुरक्षा, संरक्षण  र प्रोत्साहन गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, “शिक्षा,स्वास्थ्य,विकास जस्ता क्षेत्रमा लगानी गर्नुहोस्, सरकार तपाईंहरुलाई प्रोत्साहित गर्दछ ।, त्यति मात्र होइन तपाईहरुको लगानीको सुरक्षा र संरक्षण पनि गर्दछ।” 

गुणस्तरीय शिक्षा सबै नागरिकका अधिकार भएकाले त्यसका लागि विदेश जानुपर्ने बाध्यता हटाउनुपर्ने  प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने बाध्यता  असुहाउँदो  भएको बताउनुभयो ।

 

“देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो–“कुनै विशिष्ट प्रकारको प्राविधिक शिक्षा लिन विदेश जाने कुरा फरक हो, तर अन्य विषय अध्ययनका लागि विदेश जाने बाध्यताको अन्त्य गर्नैपर्छ । “त्यसैले हामीले विदेशमा जतिकै गुणस्तर दिन सक्ने शैक्षिक संस्था नेपालमै खोल्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले शिक्षा प्रतिपर्धी,रोजगारमुलक र राष्ट्रिय भावना जगाउन सक्ने हुनुपर्ने बताउनुभएको छ । शिक्षा संस्कारिक, देशभक्त र निष्ठावान नागरिक उत्पादन केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो । यसैबीच कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले शिक्षालाई गुणस्तरीय बनाउने तर्फ सरकारी, सामुदायिक तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ सुरु मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता छ । प्रदर्शनीस्थलको भित्र र बाहिर गरेर १ सय ५० स्टल रहेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना काठमाडौंको प्रदर्शनी मार्गस्थित आजबाट सुरु भएको छैठौँ कान्तिपुर हिसान शैक्षिक मेला चार दिनसम्म चल्नेछ ।  

 


प्रतिक्रिया