भिजिट भिसा सम्बन्धी मापदण्डमा परिमार्जन

कार्तिक १४, २०८२ | काठमाडौं
अध्यागमन विभागले हाल कार्यान्वयनको क्रममा रहेको भिजिट भिसा सम्बन्धी केहि प्रावधानमा परिमार्जन गरेको छ ।
विभागले आज पत्रकार सम्मलेन गर्दै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनका लागि सो मापदण्डमा परिमार्जन गरिएको जानकारी दिएको हो । पछिल्लो पटक गृह मन्त्रीस्तरीय निर्णयअनुसार सबै पुराना प्रावधान रद्द गरी नयाँ भिजिट भिसा सम्बन्धी व्यवस्था जारी गरिएको विभागको भनाइ छ ।
विदेश यात्राका लागि पालना गर्नुपर्ने मापदण्डबारे जानकारी दिँदै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने बताउनुभयो ।
भिजिट भिसामा विभिन्न देशमा जाने नागरिकहरु ठगीमा पर्ने गरेको गुनासकाबीच विभागले मापदण्ड परिमार्जन गरेको हो । विदेश भ्रमणमा जाने क्रममा कतिपय यात्रुलाई रोकेर फिर्ता पठाएको अवस्थामा समेत ट्राभल एजेन्सीबाट ठगी हुने गरेको पाइएको विभागले जनाएको छ ।
विदेश यात्राका क्रममा झुटा विवरण राखेर पासपोर्ट र भिसाको समेत दुरुपयोग हुने गरेको पाइएको जनाउँदै त्यस्ता गतिविधि नगर्न समेत सबैलाई आग्रह गरेको छ ।



 
  
  
  
  
  
 




