कंग्रेस केन्द्रिय कार्यसमिति बैठक फेरि दुई दिनका लागि स्थगित

कार्तिक १४, २०८२ | काठमाडौं

पार्टीको महाधिवेशन आयोजनाको विषयलाई लिएर नेपाली कंग्रेसभित्र विवाद बढिरहेका बेला केन्द्रिय कार्यसमिति बैठक फेरि दुई दिनका लागि स्थगित भएको छ ।

संस्थापन इतर पक्षको नेतृत्व गर्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेकोमा संस्थापन पक्षका नेताहरुले त्यसलाई अस्वीकार गरेपछि विवाद चर्किएको हो ।

कार्यवाहक सभापति पूर्णवहादुर खड्कासँगको छलफलमा महामन्त्री थापाले महाधिवेशनका लागि कार्यतालिका कार्यसमितिमा पेश गर्ने बताएलगत्तै संस्थापन पक्षले समेत छुट्टै कार्यतालिका ल्याउने रणनीति बनाएको बुझिएको छ । कार्यसमिति बैठकमा दुई पक्षको कार्यतालिकामाथि छलफल गर्नुपर्ने अवस्था विवाद थप चर्किने भएपछि सहमतिका लागि भन्दै आजको बैठक बस्दै नबसी स्थगित भएको एक नेताले बताए ।

बैठक आगामी आइतवार एक बजेका लागि बोलाइएको छ । महामन्त्री थापाले आफ्नो माग सम्वोधन नभएको भन्दै बैठक बहिष्कार गरेपछि चर्किएको विवाद मिलाउन मध्यमार्गी विकल्पको खोजी भइरहेको नेताहरुले बताएका छन् । आफ्नो एजेन्डाका लागि थापाले अर्का नेता शेखर कोइराला पक्षसँग समेत छलफल गरिरहेको बताइन्छ । यसैबीच, पार्टीको विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरुले दवावका लागि आगामी आइतवार छुट्टै भेला गर्ने तयारी गरेका छन् ।

५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् । संस्थापन पक्षले फागुन २१ गतेका लागि निर्धारित चुनाव अघि पार्टीको महाधिवेशन गर्न नसकिने धारणा राखेपछि इतर पक्ष रुष्ट बनेको छ । यही विवादले कंग्रेसभित्र अप्ठ्यारो परिस्थिति बन्दै गएको विश्लेषण समेत भएको छ । 


प्रतिक्रिया