मन्द गतिमा विष पान गराएर जनसंख्या घटाउँदै सरकार : पुष्पा भूषाल

रेडियो कान्तिपुर संवाददाता

असार २४, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुको कारणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकको प्रारम्भमा बोल्दै कांग्रेस सचेतक पुष्पा भूषालले जनतालाई मन्द गतिमा विष पान गराएर सरकारले जनताको स्वास्थ्यमा ठूलो खेलबाड गरेको आरोप लगाउनुभयो । 

विषादीयुक्त तरकारी तथा फलफूल आयात गरेर सरकारले जनताको अधिकार हनन गरेको भूषालको आरोप थियो । विषादी परीक्षण गर्ने प्रयोगशाला नभएको बहाना गरी सरकार पन्छिन खोजेको भन्दै उहाँले संवेदनशील विषयमा समेत सरकार गम्भीर बन्न नसकेको बताउनुभयो । 

मुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर बनेको भन्दै उहाँले त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । सर्लाहीमा प्रहरीको गोली लागि नेत्रविक्रम चन्द समूहका कुमार पौडेलको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाइनुपर्नेमा उहाँले जोड दिनुभयो । 

राष्ट्रिय जनता पार्टी राजपा नेपालका राजकिशोर यादवले सरकार र मन्त्रीहरुको क्रियाकलाप संविधानको बर्खिलाप हुने गरेको आरोप लगाउनुभयो । सरकारले सदनको निर्देशन पालना नगरेको उहाँको भनाई थियो । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि यादवले पुनः माग गर्नुभयो । 


प्रतिक्रिया