मुन्धुम सुनाउँदै सकियो चासोक तङ्नाम

मंसिर २८, २०७६ | धरान

याक्थुङ चुम्लुङले चासोक तङ्नाम (न्वागी उत्सव) को अवसरमा पहिलो पटक धरानमा मुन्धुमका तिनै विद्यामा दक्ष येवा/येमानी, साम्बा र फेदाङ्बार्फात याग्राङ्सिङ उठाएर तङ्सिङ तक्मा गरेका छन् । चासोक तङ्नामलाई नयाँ पुस्ता माझ मौलिक सांस्कृतिक चाडको रुपमा स्थापित गर्न यसपटक चुम्लुङहिम परिसरमा आयोजित चार दिने सामूहिक चासोक तङ्नाम सांस्कृतिक पर्यटन उत्सवलाई सांस्कृतिक पहिचानसँग जोडेको आयोजक चुम्लुङका जिल्ला अध्यक्ष मोहन हुक्पाचोङ्बाङ्ले बताउनुभयो । 

उहाँकाअनुसार लिम्बु समुदायको याक्थुङ मुन्धुम (दर्शन) अनुसार चासोक तङ्नामको सम्बन्ध कृषियुगसँग राख्छ । मुन्धुममा पनि त्यसबेलाको सामाजिक, पारिवारिक, सांस्कृतिक अवस्थाको व्याख्या र बर्णन गरिएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेतवारीमा छरेको, रोपेको अन्नबाली पाकेपछि आफ्नो कुल इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि आफूले खाँदै मनाउने चासोक तङ्नाम लिम्बु जातीको मौलिक सांस्कृतिक चाड भएकोले हर्षोल्लासका साथ सामूहिक रुपमा सम्पन्न भयो ।’ 

चासोक तङ्नामको अवसरमा मुन्धुम फलाक्नका लागि ताप्लेजुङको नाल्बोबाट येवा/येमानी, साम्बा र फेदाङबा ल्याइएको संयोजक हुक्पा चोङ्बाङ्ले बताउनुभयो । फेदाङ्बाले घरको देउदेउता मन्साउने गर्छ । येवाले याग्राङ्सिङ उठाएर आंखी डाही, गाली सराप बगाउने गर्छ भने साम्बाले सामाजिक पारिवारिक रुपमा इष्टमित्र, कुलकुटुम्बमा सुख शान्तिको कामना, अन्नबाली उत्पादन वृद्धिको प्रार्थना, धन दौलत, शौर्यताको प्राप्तीका लागि तागेरानिङ्वाफुमाङ (प्रकृति) सँग मुन्धुम फलाक्ने गर्छ । मुन्धुम फलाक्नका लागि सन्तवीर नाल्बो लिम्बु, विजय लिम्बु लगायतको टोली सहभागी भएका थिए ।

उहाँले भन्नुभयो, ‘मुन्धुम र याक्थुङ लिम्बु बीचको सम्बन्ध एकापसमा जोडिएको छ । मुन्धुमविना याक्थुङ लिम्बुको अस्तित्व नै हुँदैन । यसर्थ यो चासोक तङ्नामलाई मुन्धुम अनुसार मान्नका लागि जानकार येवा येमानी, साम्बा र फेदाङ्बा नै ल्याएर धरानमा चारदिने न्वागी उत्सव मनाएका हौं ।’ यसअघि चासोक तङ्नाम मनाउदा सामान्य विधिमात्र गरेर मनाउने गरिएको थियो ।

चासोकमा येवायेमानी, साम्बा फेदाङ्बाहरुले आकाशीय ब्रमाण्डको श्रृष्टि कथादेखि पृथ्वी, जीवजन्तु, आगो, पानी, हुँदै अन्तिममा मानव जीवनको उत्पती कथा फलाकेर सुनाएका थिए । मानव जीवन र मानव सभ्यताको सुरुआत भएपछि बाच्नका लागि मानिसले अन्नबाली लगाउने, पकाएर खान थालेको र सवैभन्दा पहिला प्रकृतिका उत्पन्न अन्नबाली कृतज्ञता आभार व्यक्त गर्न प्रकतिलाई नै चढाएर खान सुरु गरेको मुन्धुमी कथामा वर्णन गरिएको आधारमा चासोक तङ्नाम मनाउने गरिएको मुन्धुमविद अर्जुन बाबु माबोहाङ्ले बताउनुभयो । चारदिने चासोकमा मौलिक पहिरन भएपनि आधुनिक डिजाइन गरिएको मेख्ली र तागावामा लिम्बु समुदायका युवायुवतीहरु सजिएर सहभागी भएका थिए । उनीहरु हाडनाता र साइनो नलाग्नेहरुसँग सामूहिक रुपमा यालाङ (धाननाच) र के लाङ (च्याब्रुङ नाच), हाक्पारे जस्ता सांस्कृतिमा रौसिएका थिए ।


प्रतिक्रिया