जलेश्वर कारागारबाट फरार २ सय १० कैदी फिर्ता

आश्विन २, २०८२ | काठमाडौं
आन्दोलनको मौका छोपी महोत्तरीको जलेश्वर कारागारबाट फरार २ सय १० कैदी कारागार फर्किएका छन् ।
सो कारागारबाट ५ सय ७५ कैदीबन्दी फरार भएका थिए । जलेश्वर कारागार प्रशासनले फरार कैदीबन्दीका परिवार र आफन्तलाई सम्पर्क गरी उनीहरुलाई कारागार फर्काउने काममा लागेको कारागार प्रमुख अशोक क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार अहिले दैनिक ४÷५ जना कैदीबन्दी कारागार फर्किरहेका छन् । त्यस्तै प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट केही कैदीबन्दीलाई पक्राउ गरेको थियो ।
यसैबीच भदौ २४ गतेको आन्दोलनका क्रममा मधेश प्रदेशबाट ५० जना भारतीय कैदी कारागार फोडेर भागेको प्रहरीले जनाएको छ । हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, अपहरण तथा शारिरिक बन्धक र जबरजस्ती करणी मुद्धामा कैद सजाय भोगिरहेका भारतीय कैदी भागेका हुन् ।