विश्व रेडियो दिवस: अझै सान्दर्भिकता हराएको छैन

फाल्गुन १, २०७६ | काठमाडौं

आज फेब्रुअरी १३ तारिख । अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबिचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

विश्व रेडियो दिवसको सन्दर्भमा चर्चा गर्नुअघि एउटा तीतो सत्य प्रस्तुत गर्न मन लाग्यो । त्यो के भने ८० वर्षभन्दा लामो इतिहास भएको भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा हालै बन्द भयो । गत माघ १७ गते अन्तिम कार्यक्रम गर्दै रेडियो बन्द भयो । रेडियोको लोकप्रियता र सुन्ने स्रोता घट्दै गएकाले रेडियो बन्द गर्नु परेको बीबीसीले जनाएको छ । रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहने छ । सन् १९४० को मे ११ तारिखमा सुरु भएको यो रेडियोलाई एक वर्ष अघिदेखि नै बन्द गर्ने प्रक्रिया सुरु भएको थियो ।

नेपालमा अहिले नै श्रोताको संख्या घटेकाले रेडियो बन्द गर्ने निर्मम निर्णयमा पुगिहाल्नु पर्ने अवस्था आइहालेको छैन । तर, रेडियोप्रति श्रोताको चाख बढाउने काम गरिएन भने त्यो दिन धेरै टाढा पनि छैन । २०५२ फागुन १० गते रेडियो नेपालले एक सय मेगाहर्जमा एफ.एम रेडियो सञ्चालन गर्ने अनुमति लिएयता अहिले मुलुकभर ७ सय ४० एफ.एम स्टेशनहरुले इजाजत लिइसकेका छन् । ती मध्ये अधिकांश सञ्चालनमा छन् ।

इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोगले परम्परागत सञ्चार माध्यमहरुको उपयोगमा कमी आउन थालेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । पत्रिका र रेडियो त इन्टरनेटको व्यापक विस्तारपछि खुम्चिनु पर्ने अवस्थामा पुगेको आभास भइसकेको छ । पहिले पाठक र श्रोताले पत्रिका र रेडियो ती सञ्चार माध्यमको अनुकलुता र उपलब्धताका आधारमा पढ्ने र सुन्ने गर्थे । अहिले अवस्था उल्टिएर पाठक र श्रोताको अनुकुलतामा ती माध्यमको उपयोग हुने क्रम बढेको छ । मोबाइल फोनकै फैलावटले अहिले मुलुकको ७१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ । योमध्ये ५५ प्रतिशतले मोबाइलमार्फत् इन्टरनेट प्रयोग गर्ने गरेको नेपाल दुरसञ्चार प्राधिकरणको कार्तिक २०७६ मासिक प्रतिवेदनले देखाउँछ । तर, हाम्रा रेडियोका कार्यक्रमहरु ती मोबाइल प्रयोगकर्ताहरु प्रति लक्षित छैन । वा, भनौं जहाँ श्रोता छन् त्यहाँ प्रसारकहरु पुग्न सकिरहेका छैनन् ।

रेडियोको सबैभन्दा सबल पक्ष भनेको विभिन्न भाषाभाषीका कार्यक्रम सञ्चालन गर्नु हो । रेडियोको फैलावट यसरी तीव्र गतिमा नहुँदो हो त मातृभाषामा देशदेशावरका सूचना र मनोरञ्जन प्राप्त गर्ने अवसरबाट भाषाभाषीहरु बञ्चित हुने थिए । यसले भाषाको मात्र हैन सँस्कृति जर्गेनामा पनि राम्रै टेवा पुगेको छ । पहिले रेडियो नेपालले थालेको भाषाभाषीको कार्यक्रम सञ्चालन अहिले विभिन्न जिल्लामा सञ्चालित एफ.एम स्टेशनहरुले पनि सिको गर्न थालिसकेका छन् । जसले गर्दा स्थानीयलाई उनीहरुकै लवजमा सूचना प्राप्त गर्ने अवसर जुरेको छ र त्यसले सूचनामा मिठास पनि थप्छ ।

 देशभरि खुलेका रेडियो स्टेसनहरूबाट विभिन्न समुदायले आफ्नो मातृभाषामा कार्यक्रम सञ्चालन गर्न पाउनाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुकको पहिचानले थोरै मात्र भए पनि सार्थकता पाएको देखिन्छ । यसअघि सञ्चारजगतमा पनि बहुपहिचानको विषय केवल संविधानको धारासम्ममा मात्रै सीमित थियो । विभिन्न भाषमा सञ्चालित कार्यक्रम मार्फत् समुदायले आफ्नो अनुभूति, विचार, दृष्टिकोण आफ्नै मातृभाषमा अभिव्यक्त गर्न पाएका छन् । समाज रूपान्तरणका लागि आफूमा भएका ज्ञान, अनुभव, क्षमता र योजना प्रस्तुत गर्ने भरपर्दो थलो पनि रेडियो ने हुन पुगेको छ । यसले ती समुदायमा आत्मगौरवको विकास पनि गराएको छ । रेडियो कार्यक्रमहरू समुदायका लागि सूचना एवं जानकारी सम्प्रेषण गर्ने भरपर्दो विकल्पका रूपमा उभिएको छ । साथै, मातृभाषामा रेडियोमा बोल्न र सुनाउन पाउँदा ती समुदायमा रहेको हिनताबोधलाई चिर्ने काम पनि भएको छ ।

नेपालजस्तो गरिबी र अस्तव्यस्तताले जकडिएको मुलुकमा रेडियोको भूमिका महत्पूर्ण देखिन्छ । असमान भौगोलिक धरातल र असमान विकासले गर्दा नेपालमा रेडियोको पहुँच अझ बढाउनुपर्ने देखिएको छ । रेडियोहरुलाई वास्तविक आवाजविहीनहरूको आवाज बनाउनका लागि कार्यक्रमको प्रस्तुतिमा परिमार्जनसँगै श्रोताको चाहनालाई प्राथमिकतामा राख्न जरुरी भइसकेको छ । नभए रेडियो, अलिहेझैं कुइरोको काग हुन बेर छैन । नियन्त्रण र नियमनभन्दा माथि देखिएका रेडियोहरुले सत्य, तथ्य निष्पक्षजस्ता पत्रकारिताको धर्म धान्न सकेका छैनन् । जसले गर्दा आमनागरिकको विश्वासको कसीमा सबै रेडियोहरु खरा उत्रिन सकेका छैनन् । समयक्रमसँगै सूचना प्रवाहको गहकिलो जिम्मेवारी बोक्ने रेडियोहरु श्रोताको नजरमा विश्वासिलो माध्यमका रुपमा स्थापित हुन सकेनन् भने त्यसको प्रभाव आमसञ्चार र पत्रकारिताका अन्य माध्यममा पनि पर्नेमा कुनै शंका छैन ।

लोकतान्त्रिक आन्दोलन, विनाशकारी भूकम्प, बाढी र पहिरोको प्रकोप जस्ता इतिहासका महत्वपूर्ण कालखण्डमा नेपाली रेडियोहरुले सूचना सम्प्रेषणमा पुर्‍याएको योगदानकै कारण अहिले पनि यो विश्वासिलो माध्यमका रुपमा श्रोताका मनमा बास पाउन सफल छ । तर, अनलाइन न्युज पोर्टलहरुले छिनछिनमा विश्वभरका ताजा सूचना पाठकका हातका मोबाइलमा पुर्‍याउन थालेपछि रेडियोले तीव्र रुपमा सूचना प्रवाहभन्दा पनि विषयवस्तुको गहनतामा पुग्ने कोशिश गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

 अझ सामाजिक सञ्जालमा आइसकेका सूचनालाई रेडियोले समाचारका रुपमा प्रस्तुत गर्दा श्रोताको चाहना पूर्ति हुनै सक्दैन । कुनै पनि विषयवस्तुको साङ्गोपाङ्गो प्रस्तुति, फरक मतलाई पनि दिने स्थान, नेताहरुको भाषण र कटाक्षभन्दा विशेषज्ञको अनुभवमा आधारित भएर रेडियोका कार्यक्रम र समाचारहरु सम्प्रेषण हुनुपर्ने बेला आइसकेको छ । तर, त्यसका लागि रेडियोमा काम गर्ने जनशक्तिमा लगानी आवश्यक छ । जुन अहिले रेडियो प्रसारकहरुको प्राथमिकतामा छैन । श्रोता के सुन्न चाहन्छन् भन्दा पनि प्रसारकहरु के सुनाउन चाहन्छन् भन्नेले बढी महतव र स्थान पाउने क्रमको पनि अन्त्य आवश्यक भइसकेको छ ।

सर्वेक्षणले के पनि देखाएको छ भने, श्रोताहरु पहिलेजस्तो रेडियो सुनेर बस्दैनन् । समाचार र विभिन्न सूचना जान्न रेडियो सुन्नेले पनि आफ्नो अनुकुलतामा मात्रै यसको प्रयोग गर्छन् । साँझ बिहानबाहेक आफ्नो अनुकुलता वा फुर्सदमा रेडियो सुन्ने जमात बढ्दो छ । त्यसैले श्रोता जहाँ त्यही रेडियोको सामग्री पुर्‍याउनु पर्ने नयाँ चुनौती रेडियोकर्मीहरुमा आइपरेको छ । श्रोताको चाहनाको विविधतालाई समेट्न एउटै रेडियोबाट समेट्न पजि मुस्किल पर्न थालिसकेको छ । त्यसैले पछिल्ला दिनमा विषय र प्रस्तुति केन्द्रित एफ.एमहरु खुल्ने क्रम बढ्दो छ । किनभने श्रोताको चाहना समयसँगै परिवर्तन हुँदै गइरहेका मात्रै छैन कि एउटा विषय विशेषमा उनीहरुको रुची पनि उत्तिकै बढ्दो छ । पहिलेजस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्य लगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् ।

गाउँघरतिर बुढापाकाले नयाँ पुस्तालाई कथा सुनाउने बेला अन्त्यतिर ‘सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला.....’ भन्दै कथाको बिट मार्थे । उतिबेलादेखि नै श्रोतालाई कति महत्व दिइन्थ्यो भन्ने बुझ्न हामीसबै विगततर्फ फर्किए मात्रै पुग्छ । अचेल हाम्रा रेडियोहरु श्रोताकेन्द्रित कम र आत्मकेन्द्रित ज्यादा त भइरहेका छैनन् ? शेयरकाष्ट इनिसियटिभको एउटा तथ्याङ्कले के देखाएको छ भने इन्टरनेट चलाउनेमध्ये ९५ प्रतिशत सामाजिक सञ्जालमा सक्रिय छन् । त्यस्तै रेडियो सेटको प्रयोग गर्नेहरु ४८ प्रतिशत हाराहारी हुँदा मोबाइलमार्फत् रेडियो सेट सुन्ने श्रोताको संख्या ५६ प्रतिशत छ । यसले पनि रेडियोका कार्यक्रमहरु कतातिर केन्द्रित हुनुपर्छ भन्ने सङ्केत गर्छ ।

रेडियोको सम्पति त्यहाँ बज्ने गीत संगीत सूचना हुन् कि श्रोता ? गहिरिएर सोच्ने बेला भएको छ । रेडियाकर्मीसँगै व्यवस्थापकहरुले पनि यसबारे श्रोतालाई समय घर्किनुअघि नै जानकारी गराउँदा उत्तम हुन्छ । किनभने श्रोता भएकाले रेडियो हुने हो । रेडियो भएकै कारण श्रोता हुने अवस्थाको अन्त्य नेपालमा पनि धेरैअघि नै भइसक्यो । 


प्रतिक्रिया