सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजिनामा

फाल्गुन ८, २०७६ | काठमाडौं

सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको छ । ७० करोड रुपैयाँ कमिसनमा डिल भएको अडियो बाहिरिएसँगै चौतर्फी बिरोधका बीच मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाउनुभएको हो ।

 माईक्रो ब्लगिङ साईट ट्विटरमा बाँस्कोटाले लेख्नु भएको छ, 'मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्री समक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको छु ।'

कञ्चनपुरबाट काठमाडौं फर्किए लगत्तै वालुवाटार पुगेका बाँस्कोटाले राजीनामा अघि प्रधानमन्त्री ओलीलाई अडियो बारे प्रष्ट पार्ने प्रयास गर्नुभएको थियो । कञ्चनपुरमा कार्यकर्तासँगको भेटघाटमा बाँस्कोटाले आफूमाथि लागेको आरोप पुष्टि भए कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिनुभएको थियो । व्यापारीहरु बढी पैसामा मेरो सामान किन्दे, यति कमिसन दिन्छु भन्दै आउने गरेको बताउँदै मन्त्री बाँस्कोटाले बढी पैसामा किन्न र कमिसन लिन नमानेपछि हल्ला गरेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, 'मैले सुको ७ आना पनि खाएको छैन । खाएको देखिए कारबाही भोग्न तयार छु ।’

डराएर, खुट्टा कमाएर हिंड्नु पर्ने अवस्था नरहेको बताउँदै मन्त्री बाँस्कोटाले नखाएको विष नलाग्ने बताउनुभयो ।

सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधि विजयप्रकाश मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गर्नुभएको हो । 

अडियोमा मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गर्दै कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेको प्रष्ट सुनिन्छ । ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ । त्यो अंक करिब ५५ करोड रुपैयाँ हुने बताइएको छ ।

अडियोबारे प्रधानमन्त्रीलाई २ महिना अघि नै जानकारी गराएको भएपनि कुनै प्रतिक्रिया नआउनु आश्चर्यजनक भएको ती प्रतिनिधिको भनाई छ । 


प्रतिक्रिया