प्रदेश सरकारसँग कीट र मास्क माग

चैत्र २४, २०७६ | पाल्पा

कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि पठाउन थालेपछि पाल्पामा कीट अभाव भएको छ । अस्पतालले प्रारम्भिक स्वास्थ्य जाँच गरेर आइसोलेसनमा राख्ने र स्वाब परीक्षणका लागि पठाउन थालेका हुन् । जिल्लाका लागि स्वास्थ्य कार्यालयमा १३ वटा मात्रै कीट प्राप्त भएको थियो । जसमा लुम्बिनी मेडिकल कलेजले तीन र पाल्पा अस्पतालले एउटा खर्च गरिसकेका छन् । 

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेका अनुसार कोरोना संक्रमण, रोकथाम र उपचारार्थ सिर्जित विपद्को व्यवस्थापन गर्ने प्रयोजनका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले कीट माग गरेको हो । ‘स्थानीय तहका क्वारेन्टिनमा बसेकाहरुको स्वाब परीक्षण गरियोस् भन्ने माग आएको छ,’ उहाँले भन्नुभयो, ‘तर हामीसँग कीट नै छैन भन्दा हुन्छ ।’ उहाँका अनुसार स्वास्थ्य कार्यालयमा ७ र जिल्ला अस्पतालमा दुई मात्र कीट छ । तर भारतको गौरीफन्टा र गड्डा चौकीबाट पछिल्लो समय फर्केकाहरु नै ३४ बढी छन् ।

व्यक्तिगत सुरक्षा औजार तथा आवश्यक उपकरण ५ नम्बर प्रदेश सरकारसाग माग गर्ने निर्णय भएको कमाण्डपोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । अस्पतालमा बिरामीको परीक्षण गर्न आवश्यक व्यक्तिगत सुरक्षा पीपीई, मास्क र कीट ५/५ सय थान उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेको उहाँले बताउनुभयो । बैठकले कोरोना रोकथाम र उपचारका लागि अस्पताल, जिल्ला कमाण्ड पोष्ट, पालिकाहरुले गर्ने कामहरुको संक्रमणको रोगथाम, नियन्त्रण तथा उपचार लगायत कार्यहरुमा सहजीकरण गर्न बनेको कार्ययोजना पनि पास गरेको छ ।

जिल्लास्थित अस्पताल र मेडिकल कलेजबाट दैनिक रुपमा जाँच गरिएका बिरामीको अवस्था प्रत्येक दिन ४ बजेभित्र कमाण्ड पोष्टलाई उपलब्ध गराउने निर्णय समेत भएको छ । भारत तथा तेस्रो मुलुकबाट मानिसहरु आउने क्रम जारी रहेकाले बाहिरबाट आउने सबै नागरिकलाई स्थानीय तहले अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय भएको छ । पछिल्लो समयमा गौरीफन्टा र गड्डा चौकीबाट भित्रिएका पूर्वखोला सिलुवाका २१ जना, रामपुरका नौ जना, रिब्दीकोट ख्याहाका दुई र रैनादेवी छहराका २ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरू सबै क्वारेन्टाइनमा छन् । रामपुरका नौ जनालाई बालकल्याण प्राविको क्वारेन्टाइन स्थलमा राखिएको रामपुरका मेयर रमण थापाले बताए । विदेशबाट रैनादेवी छहरामा आएका नागरिकहरु सुरुदेखि नै क्वारेन्टाइनमा राखिएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । रिब्दीकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका केही नागरिक १४ दिनपछि घरमै फर्किएका अध्यक्ष नारायण बहादुर जीसीले बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाका २१ जना सिलुवाको क्वारेन्टाइनमा बसेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । जिल्लामा १ हजार ९६ जना भारत लगायत तेस्रो मुलुकबाट फर्किएपनि क्वारेन्टाइनमा भने ३९ जना मात्रै बसेका छन् ।  


प्रतिक्रिया