अलपत्र परेकालाई उद्दार गर्दै स्थानीय सरकार

वैशाख ९, २०७७ | कालीकोट

कालीकोटको तिलागुफा नगरपालिकाले लकडाउनको क्रममा बबईमा अलपत्र परेका २१ जना नागरिकलाई मंगलबार उद्दार गरेको छ । बबईबाट कर्णाली प्रदेश सरकारले कालीकोटको जीतेसम्म यात्रु बाहक बसमा आएका उनीहरुलाई नगरपालिकाले जीतेबाट टिपरमा उद्दार गरेर गाउँसम्म पुर्‍याएको हो । 

तिलागुफा नगरपालिकाबाट ब्यापार, अध्ययन, ज्याला मजदुरीका लागि जिल्ला बाहिर गएर अलपत्र परेका ३ सय २८ जनालाई उद्दार गर्ने तयारी भइरहेको नगर प्रमुख रतनवहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार भारत गएर ६५ जना घर फर्किका छन् भने त्यही रहेकाको तथ्यांक नगरले संकलन गरिरहेको छ । 

हाल काठमाडौंमा २ सय ३७, इटहरी २७, झापा २४, संखुवासभा १३ र कोहलपुरमा १७ जना छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतमा धेरै भएकाले तत्काल नगरले अन्यत्र भएकालाई घर ल्याउन पहल गरिरहेको छ । तिलागुफा नगर पालिकाले १ करोड १५ लाख रकमको कोरोना आपतकालीन कोष निर्माण गरेर उद्दार, राहात, उपचार लगायत कामका खर्च गर्ने योजना बनाएको जनाएको छ । 

त्यस्तै, त्यहाँको रास्कोट नगरपालिकाले जिल्ला बाहिर रहेका ५ सय ३१ जना मजदुरको लगत संकलन गरेर उद्दारमा जुटेको नगर प्रमुख काशीचन्द्र बरालले बताउनुभयो । उहाँका अनुसार जिल्ला बाहिर सुर्खेत बाहेकका ठाउँमा मात्र रासकोटका ६७ जना विद्यार्थी छन् भने सुर्खेतमा सबै गरी ६७ जना छन् । 

उनीहरुको उद्दारका लागि नगरले कर्णाली प्रदेश सरकारसँग समन्वय गरिरहेको नगर प्रमुख बरालले बताउनुभयो । रास्कोटले ५० लाख रुपैयाँको कोरोना आपतकालीन कोष निर्माण गरेर सहयोगी ब्यक्ति तथा निकायलाई एकद्वार प्रणालीबाट सहयोग गर्न अपिल पनि गरेको छ ।

यहाँको विकट पलाता गाउँपालिकाले कोहलपुरमा अलपत्र परेका २४ जनालाई उद्दार गरेर धौलागोह पुर्‍याएको छ । उनीहरुलाई राडुनेटाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण पछि मात्र घर पठाइने गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातती कान्छाले बताउनुभयो ।

नेपालका विभिन्न ठाउँमा अलपत्र परेका ब्यक्तिहरुको विवरण संकलन भइरहेको र एक दुई दिनमा सबैको गाउँपालिकाले उद्दार गर्ने बमले जानकारी दिनुभयो । त्यस्तै, यहाँको नरहरिनाथ गाउँपालिकाले सुर्खेतबाट मंगलबार २५ जनालाई ल्याएको छ । 

काठमाडौं, कोहलपुर लगायत ठाउँमा भएकोको विवरण लिने काम भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार चैत यता गाउँपालिका फर्किनेको संख्या ४ सय पुगेको छ । ‘गाडी नपाएर हिँडेर पनि आए । 

अध्यक्ष विष्टले भन्नुभयो, ‘कोही लुकेर पनि आउन थाले, क्वारेन्टाइनमा पनि कति जनालाई राखिसक्नु ? गाह्रो भएको छ ।’ उहाँले भारतबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नै पर्ने भनेर स्वास्थ्यकर्मीले निगरानी गरिरहेको बताउनुभयो । जिल्लाको पचालझरना, महाबै र शुभकालिका र खाडाचक्र नगरपालिकाले पनि अलपत्र परेका नागरिकको लगत संकलन भइरहेको जनाएका छन् । 


प्रतिक्रिया