घर जान पाउनुपर्ने माग गर्दै भारतीय मजदुरद्वारा नाराबाजी

जेष्ठ ८, २०७७ | नवलपरासी

पूर्वी नवलपरासीका ९ वटा इँट्टा भट्टामा कार्यरत ८ सय ८० भारतीय मजदुरहरुले आफ्नो घर फर्कन पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । उनीहरु बालबच्चा समेत छन् । लकडाउनका कारण विगत २ महिनादेखि अलपत्र मजदुरहरु आफ्नो खेतीपाती लगाउन ढिलो भईसकेको र घर जान नपाएका कारण आत्तिएका छन् । 

उनीहरु गत कात्र्तिकमा यहाँका उद्योगमा काम गर्न आएका हुन् । वर्षादमा इँट्टा भट्टा बन्द हुने र स्थानीय प्रशासनले समेत बेवास्ता गरेको उद्योगीहरुको गुनासो छ । डीबीआई इँटा उद्योगका सञ्चालक विकास प्रधानले भन्नुभयो, ‘काम पनि छैन । अब कति दिनसम्म यसरी राख्ने । ४ दिनदेखि त घर (भारत) जान पाउनपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।’ 

वडा कार्यालय र जिल्ला प्रशासनले बाहिर निस्कन रोक लगाएको पनि उनीहरुले भने नाराबाजी जारी राखेका छन् । वर्षाद सुरु भईसकेकाले धानको बीउ राख्न र खेती लगाउन उनीहरु आत्तिएका छन् । प्रधानले भन्नुभयो, ‘उनीहरुका परिवारजनले पनि आफ्ना मान्छेलाई छोडदिन दिनदिनै फोन गर्छन ।’

वर्षाद लागेका कारण इँटा बनाउने काम पनि नभएर उनी तनाबमा छन् । काम हुँदा त काममै भुल्थे अहिले काम पनि छैन । इँटा ब्यवसायी संघ पूर्वी नवलपरासीका महासचिव कृष्ण गौतमले भारतीय दूतावासमा समेत उनीहरुका नागरिकलाई फिर्ता लैजान ज्ञापनपत्र बुझाई सकेपनि सुनुवाई नभएको बताउनुभयो ।

देशभरीका उद्योगमा करीब ४ लाख भारतीय नागरिक काम गर्छन । ती सबै अलपत्र परेका छन् । गृह मन्त्रालय, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा सामाजिक सुरक्षा, मन्त्रालयलाई समेत भारतीय मजदुरलाई घर पठाउन पहल गरिदिन व्यवसायीहरुले आग्रह गरेपनि सुनुवाई नभएको गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्षा लागेका कारण उद्योगमा काम पनि छैन । भोकै राख्न सकिएन घर परिवारकै सदस्य झै लाग्छ ।’ भारत उत्तर प्रदेश पिलिभित जिल्लाका मजदुर सराफत अलिले आफूहरुलाई उद्योगले बाहिर निस्कन दिए हिँडेरै भएपनि घर जाने बताए ।


प्रतिक्रिया