पश्चिमी न्यूनचापीय प्रणालीका कारण वर्षाको सम्भावना
पुस १२, २०८१ | काठमाडौं
पश्चिमी न्यूनचापीय प्रणालीका कारण मुलुकका विभिन्न स्थानमा आज र भोली वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली भई एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी तथा लुम्बिनी प्रदेशमा पनि आंशिक बदली रहने सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीका कारण तापक्रम समेत घट्ने भएकाले थप चिसो बढ्न सक्ने जनाईएको छ ।
तराई तथा उपत्यका थोरै स्थानहरूमा हुस्सु, कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यद्यपी कोशी, मधेश र बागमती प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।