जनकपुरको आइसोलेशनमा राखिएका कोराना संक्रमित ढोका फोडेर फरार

जेष्ठ ११, २०७७ | जनकपुर

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन वार्डमा उपचाररत्त सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर फरार भएका छन् । फरार संक्रमित सुस्तमनस्थितिका छन् ।

गत बैशाख २९ गते कोरोना भाइरस संक्रमित पुष्टि भएपछि उनलाई जनकपुरको आइसोलेशन वार्डमा राखिएको थियो । शनिबार राति आइसोलेशन वार्डको तेस्रो तल्लाको कोठाको ढोका फोडेर कोरोना संक्रमित फरार भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । 

जनकपुरको आइसोलेशन वार्डमा हाल ३० जना संक्रमित उपचारत छन् । ‘सुस्तमनस्थिति भएकाले आइसोलेशनमा आएदेखि उप्रदो मच्चाइरहको थियो,’ धनुषाका एसपी बस्नेतले भन्नुभयो, ‘तीन दिनअघि सिसि क्यामरा फुटाइदिए । अहिले फरार नै भए ।’ उनको खोजीमा धनुषा र सर्लाहीको प्रहरीलाई खटाइएको छ ।

‘पीपीइ लगायका र लामो डन्डा बोकेका प्रहरी उनको खोजीमा खटिएका छन्,’ एसपी बस्नेतले भन्नुभयो, ‘शनिबार राति नै फरार भएपनि प्रहरीलाई आइतबार बिहान मात्र जानकारी दिइयो । फरार भएको हो कि भगाइयो हो दुबै कोणले अनुसन्धान भइरहेको छ ।’

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा तीन दिनयता संक्रमितको संख्या बढेको छ । फरार संक्रमितलाई साइकेस्टिकको औषधि चलाइएको थियो । ‘मानसिक स्थिति ठीक नभएकाले आइसोलेशनमै दिनदिनै होहल्ला र उप्रदो गरिरहेका थिए,’ प्रादेशिक अस्पतालका मेसु नागेन्द्र यादवले भन्नुभयो, ‘चार दिनअघि झ्याल फोडेर त्यहीबाट पिसाब फेरिदिए ।’ उनका अनुसार फरार संक्रमितको दोस्रो पटक स्वाब परीक्षण भइसकेको छ ।

सर्लाही प्रहरीका एसपी विश्वमणि पोखरेलले जनकपुरको आइसोलेशनबाट फरार भएका सर्लाहीका संक्रमितको खोजी भइरहेको बताउनुभयो । ‘हिँडेरै आउने होला । उसका गाउँ र नाकाहरुमा प्रहरी खटाइएको छ,’ सर्लाहीका एसपी पोखरेलले भन्नुभयो, ‘राजमार्गका प्रहरीलाई पनि चनाखो राखिएको छ ।’


प्रतिक्रिया