रुकुम पश्चिमको सोती घटनाका आरोपितलाई १० को म्याद थप

जेष्ठ २२, २०७७ | रुकुम पश्चिम

सोती घटनाको आरोपितलाई म्याद थप गरिएको छ । रुकुम जिल्ला अदालतबाट बिहीबार १० दिनको म्याद थप गरिएको हो । घटनाको अनुसन्धान नसकिएको भन्दै प्रहरीले ११ दिनको म्याद थपका लागि माग गरेर अदालत पठाएको थियो । तर, जिल्ला अदालतले प्रहरीले मागेको भन्दा एक दिन कम १० दिनको म्याद थप गरेको छ । 

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न भन्दै म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो । सोती घटनामा संलग्न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । 

चौरजहारी नगरपालिका–८, का वडाध्यक्ष डम्मरबहादुर मल्ल, बीरबहादुर मल्ल, प्रकाशी मल्ल सहित १८ जना हिरासतमा छन् । प्रहरीले वडाध्यक्ष मल्ल सहित १२ लाई पहिला पक्राउ गरेको थियो भने ६ जनालाई पछि पक्राउ गरेको थियो । पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्य २ जना अँझै फरार छन् ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको छ । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । 

६ जनाकै शव भेरी नदी र नदी किनारमा भेटिएको थियो । नवराजको शव १० गते नै राती भेटिएको थियो भने गोविन्दको शव जेठ २० गते भेटिएको थियो ।

जाजरकोट भेरी नगरपालिका–४, का नवराजका रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, कि मल्ल थरकी १७ वर्षीया किशोरीसँ प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा युवाहरुको हत्या भएको पीडित परिवारले बताएका छन् ।

तल्लो जातको केटासँग आफ्नी छोरी नदिने भन्दै गाउँलेले युवाहरुमाथि आक्रमण गरेको र सोही क्रममा ६ जना युवको ज्यान गएको भनाई पीडितका आफन्तको आरोप छ । रुकुम पश्चिममा घटना भएको थियो भने युवाहरु सबैको शव जाजरकोट तर्फको भेरी नदी किनारमा पाइएको थियो । पीडित परिवारले जाजरकोट प्रहरी मार्फत रुकुम पश्चिम प्रहरीमा उजुरी गरेका थिए ।


प्रतिक्रिया