सोती घटनाको २१ औं दिन : विरोधमा खलंगामा प्रर्दशन

रुकुम पश्चिम सदरमुकाम खलंगामा शुक्रबार भएको प्रर्दशनमा सहभागिहरु । तस्बिर : हरि गौतम, रेडियो कान्तिपुर  

जेष्ठ ३०, २०७७ | रुकुम पश्चिम

सोती घटनाको विरोधमा रुकुम पश्चिम सदरमुकाम खलंगामा विरोध प्रर्दशन भएको छ । सयुंक्त दलित अधिकार मञ्चको संयोजनमा भएको प्रर्दशनका क्रममा प्रर्दशनकारीले नाराबाजी सहित बजार परिक्रमा गरेका थिए । सोती हत्याकाण्डमा मारिएकाहरुलाई साँस्कृतिक सहिद घोषणा गर्नुपर्ने, दोषिलाई कारबाही गर्नुपर्ने लगायत माग उनीहरुको छ ।

कालिकास्थानबाट सुरु भएको प्रर्दशन पुष्पलालचौक, मुख्य बजार, जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला समन्वय समितिको कार्यालय हुँदै पून: कालिकास्थान पुगेर प्रर्दशन कोण सभामा परिणत भएको थियो । विभिन्न गाउँबाट आएकाहरु प्रर्दशनमा सहभागि भएका थिए । जिल्लाको मुसीकोट नगरपालिका सहित त्रिवेणि, बाँफिकोट र सानीभेरी गाउँपालिका तथा चौरजहारी नगरपालिकाबाट समेत दलित अधिकारकर्मी तथा अरु सर्वसाधारण प्रर्दशनमा सहभागि भएका थिए ।

पीडितले न्याय पाउनुपर्ने, दोषिलाई हदैसम्मको कारबाहीको माग गर्दै दवाव स्वरुप प्रर्दशन गरिएको मञ्चका संयोजक उपेन्द्रलाल कामीले बताउनुभयो । मञ्चले प्रर्दशनको आह्वान गरेपनि गाउँ गाउँबाट सर्वसाधारण स्व:स्फूर्त सहभागि भएको कामीको भनाई छ । कथित माथिल्लो जातको भनिएकालाई प्रेम गर्नु नै अपराध हुने गरी भएको हत्याकाण्डाको जति भर्तसना गरेपनि कमै हुने कामीले बताउनभुयो । 

घटनाका दोषिलाई कारबाहीका लागि जनदवाव तथा पीडित परिवारलाई उचित राहतको माग पनि प्रर्दशन मार्फत गरिएको उहाँले बताउृनभयो । यसअघि नेपाली कांग्रेस निकट भ्रातृ संगठन तथा जनता समाजवादी पार्टीका भार्त संगठनहरुले प्रर्दशन गरेका थिए ।

जेठ १० गते शनिबार चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले जाजरकोटतर्फबाट आएका युवाहरुलाई आक्रमण गरेका थिए । त्यही क्रममा ५ जाजरकोट र एक रुकुम पश्चिमका युवाको मृत्यु भएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, लोकेन्द्र सुनार, सञ्जिव विक, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको छ । 

नवराजकी प्रेमिका भनिएकी सोतीकी १७ वर्षीया मल्ल थरकी किशोरीलाई विहे गरेर लैजाने भन्दै युवाहरु सोति पुगेको बताइएको छ । त्यसै क्रममा गाउँलेले युवाहरुलाई लखेटेका थिए । सो घटनामा संलग्न भएको भन्दै पीडित परिवारले वडाध्यक्ष डम्मरबहादुर मल्ल सहित २० जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धि किटानी जाहेर गरेका छन् । 

प्रहरीले यी २० सहित २८ जनालाई पक्रेर अनुसन्धान गरिरहेको छ । प्रहरीले वडाध्यक्ष मल्ल सहित किशोरीका बाबु, आमा लगायतलाई पक्रेको छ भने किशोरीका आफन्त जाजरकोटकै एक जनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 


प्रतिक्रिया