बझाङको खप्तड छान्नामा दुई गाउँका स्थानीयबीच झडप

श्रावण ६, २०७७ | बझाङ

बझाङको खप्तड छान्ना गाउँपालिकामा दुई गाउँका स्थानीयबीच झडप हुँदा दुई जना घाइते भएका छन् । खप्तड छान्ना गाउँपालिकामा–३ को मेलतडी गाउँ र वडा नम्बर–४ को माझी गाउँका बासिन्दाबीच झडप भएको हो । 

झडपमा वडा नम्बर–३ की वडा सदस्य सुपारी रावल र छान्ना प्रहरी चौकीका इन्चार्ज असई राम बहादुर बम घाइते भएका छन् । गाउँलेहरुले ढुंगा हानाहानमा वडा सदस्य रावलको पिठ्युँ र टाउकोमा चोट लागेको छ भने असई बमको हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको मेलतडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

मेलतडी गाउँका धिरज रोकाया र माझी गाउँका आचल रोकायाको परिवारको घरायसी रिसईबीका कारण यो झडप भएको हो । यी परिवारबीच पहिले देखि नै मनमुटाव रहेको थियो । केही दिन यता दुबै पक्षले सामाजिक सञ्जालमा एक अर्कालाई लक्षित गरी गालीगलौज गर्न थालेपछि सो मनमुटावले झडपको रुप लिएको हो ।

मंगलबार दिउँसो माझी गाउँका बासिन्दा खानेपानी योजनाको काम गर्न मेलतडी गएका बेला मेलतडीका स्थानीयले ढुङ्गा प्रहार गरेपछि दुई गाउँका स्थानीयबीच तनाव बढेको थियो । तनाव बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी बल त्यहाँ परिचालन गरिएको र दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताउनुभयो । 


प्रतिक्रिया