बाँदर धपाउन किसानलाई ‘बन्दुक’ वितरण
भाद्र २२, २०७७ | मकवानपुर
मकवानपुरको थाहा नगरपालिकाले किसानहरुका लागि ५० प्रतिशत अनुदानमा बाँदर धपाउने यन्त्र वितरण सुरु गरेको छ । नगरपालिकाले प्रतिगोटा दुई हजार ५ सय रुपैयाँका दरले खरिद गरी सो यन्त्र वितरण गरेको हो ।
‘बाँदर भगाउने बन्दुक’ भनेर परिचित सो यन्त्र नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरबाट खरिद गरेको हो । नगर क्षेत्रमा लगाएको बाली बाँदरले सखाप पार्न थालेको किसानहरुको गुनासोपछि नगरपालिकाले बाँदर धपाउने यन्त्र खरिद गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिनुभयो ।
बाँदर धपाउने यन्त्र पीडित किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने नगर प्रमुख विष्टले बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महाविर पुनसँग सम्पर्क गरी नगरपालिकाको सिफारिसमा हाललाई ४० वटा यन्त्र खरिद गरी ल्याएको नगरपालिकाको कृषि शाखाका प्रमुख सञ्जय तिवारीले जानकारी दिनुभयो ।
अहिले थाहा नगरपालिकाले वडा कार्यालयको सिफारिसमा बाँदर पीडित किसानहरुका लागि यन्त्र वितरण गरिरहेको छ । थाहा नगरका प्रत्येक वडाका लागि तत्कालका लागि कम्तिमा ३ वटाका दरले वितरण गरिने कृषि शाखा प्रमुख तिवारीले जानकारी दिनुभयो ।
बाँदर धपाउन प्रयोग गरिने यन्त्रमा केरा पकाउनका लागि प्रयोग गरिने केमिकल (कारबाइट) राखेर पड्काउने र त्यसबाट ठूलो आवाज आउने हुँदा बाँदर तुरुन्तै नफर्किने गरी भाग्ने प्राविधिकहरुले दाबी गरेका छन् । केही वर्षदेखि सयौंको संख्यामा रहेको बाँदरहरुको समूहले थाहा नगरका कृषकहरुले लगाएको नगदे तथा अन्नबाली नष्ट गर्दै आएको छ ।







