सिन्धुपाल्चोक पहिरो : ९ शवको पहिचान, २४ जना अझै बेपत्ता

भाद्र २८, २०७७ | सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा आइतबार बिहान खसेको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ । आइतबार बिहान तीन बजेतिर माथिल्लो घट्टे खोला उर्लिएर झरेको पहिरोले भिरखर्कको १० र नागपुजेको ७ घर बगाएको थियो । 

बाह्रबिसे नगरपालिका–७ का अध्यक्ष मिनबहादुर श्रेष्ठका अनुसार ठूलो पहिरो खस्दा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल, तामाङ टोलका सबै घर बगाएको छ । पहिरोमा पुरिएका माथिल्लो टोलका स्थानीयलाई दुई घण्टापछि मात्रै उद्धार गरेर उपचारारर्थ बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक रहेका छन् । त्यसैगरी मृतकमा नेवार टोलकी ६० वर्षीया हिरामाया नेवार र नागपुजेकी ४२ वर्षीया ज्ञानीमाया प्रधान मृत अवस्थामा भेटिएकी छन् ।

पहिरोमा बेपत्ता भएका ३१ मध्ये २४ जनाको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धारकार्य जारी राखेको छ । पल्लोछेउ देखि वारी भिरखर्क क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएकाले स्थानीय त्रसित छन् । 

भिरखर्क र नागपुजेका बाँकी ५८ परिवार त्रसित भएर बसाइँ सर्दैछन् । उद्धार कार्यमा खटिएका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार भिरखर्क क्षेत्रमा पहिरोमा पुरिएर घाइते भएकालाई बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र लगिएको तथा तीन जनालाई काठमाडौं पठाइएको छ ।

सभामुख घटनास्थलमा पुगे

सभामुख अग्नी सापकोटा सुरक्षाकर्मीसहित घटनास्थलमा पुगेर घटना र उद्धारबारे जानकारी लिनु भएको छ । उहाँले घाइते र बेपत्ताको उद्धारसँगै शोकाकुल स्थानीयलाई आश्वासन दिनुभयो । उहाँले पहिरो खस्नुको कारणबारे जनप्रतिनिधिसँग यर्थाथ विवरण लिनु भएको छ । 

सम्बन्धित समाचार :

* सिन्धुपाल्चोकमा पहिरोले १७ घर बगायो, एकको शव फेला


प्रतिक्रिया