वीरगञ्जमा २ करोड ६० लाख रुपैयाँ बराबरको केराउ बरामद

आश्विन १४, २०७७ | वीरगञ्ज

भारतसँग सिमाना जोडिएको पर्साको सीमावर्ती इनर्वा गाउँमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा हरियो केराउ प्रहरीको टोलीले बरामद गरेको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ६ हजार ५ सय बोरा हरियो केराउ बुधबार बरामद गरिको हो ।

बरामद गरिएको केराउको बजार मूल्य २ करोड ६० लाख रुपैयाँ रहेको व्यापारीले जनाएका छन् । भारततर्फ तस्करी गर्ने उद्देश्यले सिमाना नजिकै भण्डारण गरिएको केराउ बरामद गरिएको प्रहरीले जनाएको छ । 

सो केराउ बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा आधिकारिक कार्यालय रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिको रहेको डीआइजी सिंहले जानकारी दिनुभयो । व्यापारीले सिमाना नजिकैका गाउँमा केराउ भण्डारण गरी रातको समयमा अवैध रुपले भारततर्फ तस्करी गर्ने गरेका छन् । 

‘अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मंगलबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्याक्टरको पिछा गर्दा गोदामसम्म पुगेको हो,’ डीआइजी सिंहले भन्नुभयो, ‘भारततर्फ तस्करी गर्ने उद्देश्यले सीमा नजिकै अवैध रुपले भण्डारण गरिएको तीन लाख २५ हजार किलो हरियो केराउ बरामद भएको छ ।’

प्रहरी नियन्त्रणमा रहेको ट्याक्टरमा ४० क्विन्टल केराउ लोड गरिएको थियो । स्रोतका अनुसार सोही ट्याक्टरलाई पिछा गर्दै प्रहरी गोदामसम्म पुगेको थियो ।

‘प्रिज्मले केराउ बिक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरेको छ,’ डीआइजी सिंहले भन्नुभयो, ‘नेपाल भारत सिमानाबाट करीब ८ किलोमिटरको दूरीमा कार्यालय रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङले आफैलाई बिक्री गरेको बिल फेला परेपछि थप शंका उब्जियो ।’

सो फर्म ललितपुर निवासी वेदान्त जंग राणाको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ । फर्मका प्रबन्धक प्रभात श्रेष्ठ र ना ६.त ८७१० नम्बरको ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि हरियो केराउ राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने डीआइजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो । 


प्रतिक्रिया