फरार अभियुक्त १० वर्षपछि पक्राउ

माघ ८, २०७७

सिरहाको मिर्चैया नगरपालिका–३ बाट प्रहरीले हत्या अभियोगका फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ साविक भरतपुर गाविस–८ बस्ने ३४ वर्षीय जागेश्वर यादव छन् । 

यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस–९ बस्ने श्रीप्रसाद साह सोनारलाई गोली हानी हत्या गरेका थिए । मृतक सोनारको शव धनुषाको भरतपुरस्थित बालुवा खोलाको काँडाघारीमा फेला परेको थियो । बा. ११ प ४९४२ नम्बरको मोटरसाइकल चढेर धनुषाको वीरेन्द्र बजारमा फुटबल खेल्न गएका सोनारलाई जागेश्वर यादव समेतले गोली हानी हत्या गरेका थिए । 

सोनारको हत्यापछि मोटरसाइकल, नगद २५ हजार, आधी तोला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका समेत लुटेका थिए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


प्रतिक्रिया