कान्तिपुरकर्मी थापालाई एक तोला सुन बराबरको स्वर्ण पदक

फाल्गुन २, २०७७ | वीरगञ्ज

कान्तिपुर दैनिकका सुदूरपश्चिम ब्यूरो संयोजक चित्रांग थापा गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जद्वारा आइतबार आयोजित एक कार्यक्रमकाबीच थापालाई एक तोला सुन बराबरको स्वर्ण पदक प्रदान गरिएको हो । 

विगत तीन दशकदेखि मोफसलमा बसेर सामुदायिक पत्रकारिता मार्फत सुदूरपश्चिमका समाचारलाई केन्द्रसम्म पुर्‍याउन योगदान गरेका थापालाई स्वर्ण पदकबाट सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

२०६८ सालमा स्थापना भएको गोपालचन्द्र गौतम प्रतिष्ठानले पहिलो वर्ष मकवानपुरका पत्रकार प्रताप विष्टलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । प्रतिष्ठानले १० हजार रुपैयाँबाट सुरु गरेको पुरस्कार राशी १५ हजार, आधा तोला सुन हुँदै पछिल्लो ३ वर्षयता एक तोला सुन बराबरको स्वर्ण पदक वितरण गर्दै आएको छ । 

यसअघि मोफसलका पत्रकार मोहन भण्डारी, मदन ढकाल, अर्जुन ज्ञवाली, केशव आचार्य, मेघराज शर्मा, डीआर पोखरेल, शिवहरि भट्टराई, भोला पासवान सम्मानित भइसकेका छन् । 

प्रतिष्ठानका उपाध्यक्ष पत्रकार तथा लेखक चन्द्रकिशोरले मोफसलमा बसेर पत्रकारिता गरेका स्व.गोपालचन्द्र गौतम देशभरि प्रख्यात रहेको सुनाए । प्रतिष्ठानका अध्यक्ष जगदीश शर्मा, स्व.गोपालचन्द्र गौतमकी श्रीमती सुधा गौतम, वरिष्ठ उद्योगपति मुरलीधर रुंगटाले थापालाई स्वर्ण पदक प्रदान गरेका थिए ।


प्रतिक्रिया