लहान मालपोत कार्यालयमा बम विस्फोट, ८ जना घाइते

चैत्र १, २०७७ | सिरहा

सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार मध्याह्न बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्याह्न १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोला बहादुर मगर, गोलबजार नगरपालिका –६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लाल बहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रि नारायण यादव, धनगडीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका छन् । 

गम्भीर घाइते भएका दिनेश भण्डारी, भोला बहादुर मगर र शिवकुमार यादवको उपचार सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको र बाँकी समान्य घाइते भएकाको उपचार लहान अस्पतालमा भईरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले जानकारी दिनुभयो । 

गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा अवस्थित छ ।


प्रतिक्रिया