दुई न्यायाधीश सहित पर्सामा थप ८८ जनामा कोरोना पुष्टि

वैशाख ९, २०७८ | वीरगञ्ज

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका दुई जना न्यायाधीश सहित थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको पीसीआर परीक्षणमा दुई जना न्यायाधीश सहित ८८ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका कोभिड कोअर्डिनेटर डा.सरोज रोशन दासका अनुसार एक सय ९२ जनाको स्वाब परीक्षण गर्दा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । पर्साका ७९, बारा ७, जना रौतहट र रुकुमका एक/एक हुन् । 

उच्च अदालतका श्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार दुई जना न्यायाधीश सहित १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ‘न्यायाधीश, कर्मचारी, सुरक्षाकर्मी सहित १ सय १० जनाको स्वाब संकलन गरिएको थियो,’ श्रेस्तेदार कट्टेलले भन्नुभयो, ‘अस्पतालले दिएको जानकारी अनुसार ८६ जनाको स्वाब परीक्षण हुँदा १५ जनामा संक्रमण पुष्टि भएको छ ।’ 

न्यायाधीश र कर्मचारी संक्रमित भएपछि बिहीबार उच्च अदालतको काम कारबाही प्रभावित बनेको छ । पेशीमा चढेको मुद्दाको कजलिस्ट समेत सार्वजनिक भएको छैन । बार एशोसिएशनका पदाधिकारीसँग समन्वय गरी संवेदनशील समयमा कसरी अगाडि बढ्ने विषयमा छलफल गरिने श्रेस्तेदार कट्टेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया