रुपन्देहीमा निषेधाज्ञा थप कडाई गरिने

वैशाख २२, २०७८ | तिलोत्तमा

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञालाई थप कडाई गर्ने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमितको संक्रमण बढ्दै भएको भन्दै निषेधाज्ञालाई कडा गर्ने तयारी भईरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो । 

‘निषेधाज्ञा लागू भएको १० दिनपछि त्यसको प्रभाव देखिने हो,’ उहाँले भन्नुभयो, ‘अहिले साता दिनमा बढीरहेको ंसंख्याको समीक्षा गर्दै सर्वपक्षीय छलफलपछि कडाईका साथ लाग्ने हाम्रो तयारी हो ।’ अहिलेसम्मको संख्या हेर्दा थप कडाई गरेर नजाने हो भने अवस्था भयावह हुने उहाँको भनाई छ । 

विशेष गरी शहरी क्षेत्रका बैंक तथा वित्तीय संस्था, अस्पताल तथा फार्मेसीमा आवश्यक भन्दा बढी भिडभाड हुनु, भित्रि गल्लीमा पसल खुला राख्नु, मानिसको हिँड्डुल नरोकिएका कारण संक्रमण फैलिएको भन्दै जनशक्ति बढाएर निगरानी र नियमनलाई कडाई गरिने प्रजिअ तामाङले बताउनुभयो ।

रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञापछिको अवस्था र आवश्यक कदमका बारेमा छलफल गर्न कोभिड–१९ नियन्त्रण केन्द्रको बैठक अहिले केहीबेरमा बस्दैछ । बैठकपछि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन तथा बजार, पसल सञ्चालन भएमा कडा कारबाही गर्नेगरी तयारी थालिएको उहाँको भनाई छ । 

मंगलबार सम्मको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ । जसमध्ये ९ हजार ८ सय ७० जना संक्रमण मुक्त भएका छन् भने संक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७६ रहेको छ । मृत्यु हुनेको संख्या २ सय २० पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार २४ घण्टाको अवधिमा मात्रै ७ सय ९७ जना संक्रमित थपिएका हुन् । जसमध्ये बुटवल उपमहानगरपालिकामा ३ सय ३२, तिलोत्तमामा १ सय ५८, सिद्धार्थनगर नगरपालीकामा १ सय ८ संक्रमित थपिएका छन् । 

अन्य पालिकामा संक्रमित संख्या केही कम रहेको भन्दै प्रजिअ तामाङले सिद्धार्थनगरको तुलनामा बुटवल र तिलोत्तमामा समेत मानिसको हिँड्डुल, वित्तीय संस्था पूर्ण रुपमा खुल्नु र पसलमा समेत भिडभाड बढेका कारण संक्रमितको संख्या बढेको बताउनुभयो । 

तामाङले आजको बैठकबाट वित्तीय संस्था पूर्ण रुपमा बन्द गर्ने, सडक किनारका तरकारी पसल, आधा सटर खोलिएका किराना पसललाई बन्द गरी अस्पताल नजिकका फार्मेसीलाई आवश्यक भन्दा बढी खुल्न नदिने नियम बनाई अघि बढ्ने बताउनुभयो । आम नागरिकका लागि प्रहरी, प्रशासन र स्वास्थ्यकर्मीले खेलिरहेको भूमिकालाई नजरअन्दाज गर्दा संक्रमण समुदायमै बिस्तार भइरहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया