सुनचाँदी व्यवसायीको आन्दोलन फिर्ता

रेडियो कान्तिपुर संवाददाता

असार २७, २०८२

सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । सरकारसँग ६ बुंदे सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिइएको हो । बिलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको बिषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न ६ बुँदे सहमति भएसँगै व्यवसायीले आन्दोलन फिर्ता लिएको वार्तामा सहभागी सांसद तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले जानकारी दिनुभयो । विरोधका कार्यक्रम स्थगित गरिएकाले आजदेखि नियमित रूपमा पसल खुला हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सरकारले बजेटमार्फत सुनमा बिलासिता कर लगाउने घोषणा गरेको थियो ।

नयाँ करको बिरोध गर्दै सुनचाँदी व्यवसायीले देशभर नै आन्दोलन गर्दैआएका थिए । गए राति अबेरसम्म अर्थमन्त्रालयमा भएको वार्तामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति, नेपाल सुनचाँदी रत्न तथा आभुषण संघलगायतको सहभागिता थियो । व्यवसायीका माग सम्बोधन गर्न एक कार्यदल गठन गरिने छ । गठित कार्यदलले सुनचाँदी तथा बहुमूल्य धातु तथा रत्न–पत्थरमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता हुने गरी राजस्वका दर कायम गर्ने लगायतका विषयमा सिफारिस गर्ने छ ।


प्रतिक्रिया