सेनाले आठ मुख्य नाकामा एक हजार क्षमताको बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउने

वैशाख २३, २०७८ | काठमाडौं

सरकारको निर्देशनपछि कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाली सेनाले नेपाल–भारत सीमा क्षेत्रका आठ मुख्य नाकामा एक हजार क्षमताको बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउने तयारी सुरु गरेको छ । हरेक नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर, आइसोलेसन र एक सय अक्सिजन उपलब्ध सहितको बेड पनि राख्न सकिने गरी बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग डिजाइनका विषयमा छलफल भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । 

यो संरचना तयार गर्न केही समय लाग्ने सेनाले जनाएको छ । सैनिक प्रवक्ता पौडेलका अनुसार सबैभन्दा पहिला स्वास्थ्य मन्त्रालयसँग ती संरचनाको डिजाइनको विषयमा टुंगो लागेपछि आवश्यक आर्थिक स्रोतका लागि अर्थ मन्त्रालय र सम्बन्धित नाकाहरुमा जग्गा प्राप्तीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिनेछ ।

 जग्गा प्राप्ती र आर्थिक पाटो टुंगिएर आएपछि सम्बन्धित स्थानमा सेनाले उक्त बहुउपयोगी अस्थायी भौतिक संरचना बनाउने कामको थालनी गर्नेछ । मन्त्रिपरिषद्ले वैशाख ६ गते कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी सम्बन्धित प्रदेशको समन्वयमा कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, पार्सको वीरगन्ज, मोरङको रानी तथा झापको काँकडभिट्टामा कम्तीमा एक हजार क्षमताको कोल्डिङ सेन्टरको निर्माण गर्ने निर्णय गरेको थियो । त्यसपछि वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा गरेको सम्बोधनमा नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिनुभएको थियो । 


प्रतिक्रिया