लुम्बिनीमा १६ सदस्यीय मन्त्रिपरिषद बिस्तार हुँदै, ३ बजे सपथ

आश्विन २४, २०७८ | रुपन्देही

गठनबन्धनको मुख्य दल नेपाली कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएसँगै आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बिस्तार हुँदैछ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका दिउँसो तीन बजे सपथका लागि तयारी भइरहेको छ । 

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसबाट रुपन्देहीका बसिउद्धिन खाँ, बर्दियाका सुरेन्द्र हमाल र पाल्पाका वीरबहादुर राना मन्त्री बन्ने टुंगो लागेको बताउनुभयो । राज्य मन्त्रीमा कपिलवस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठको नाम टुंगो लागेको छ । 

शिक्षा युवा तथा खेलकुद, रानाले वन वातावरण तथा भू–संरक्षण र बर्दियाका हमालले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीको जिम्मेवारी पाउँदै हुनुहुन्छ । राज्य मन्त्रीमा नाम टुंगो लागेको र जिम्मेवारीको विषयमा छलफल भइरहेको खानले जानकारी दिनुभयो । 

यसअघि कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री बन्नु भएको छ । त्यस्तै, माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण र बर्दियाका तिलकराम शर्मा आन्तिरिक मामिला तथा सञ्चार मन्त्री बन्ने टुंगो लागेको छ । 

माओवादीबाट बिमला खत्री वली राज्य मन्त्री बन्ने टुंगो लागेको छ । तर, मन्त्रालयको टुंगो नलागेको इन्द्रजित थारुले बताउनुभयो । यसअघि माओवादीबाट मुख्यमन्त्री रोल्पाका कुलप्रसाद केसी र प्यूठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बन्नु भएको छ । नेकपा (एकिकृत समाजवादी)बाट पाल्पाकी रमा घर्तीलाई कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय दिने गठबन्धन दलहरुबीच सहमति भएको छ । 

कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको समर्थनबाट साउन २८ गते केसी मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । माओवादी र कांग्रेस भित्रको आन्तरिक विवादले मन्त्रिपरिषद बिस्तार लम्बिदै गएको थियो । दुबै दलले स्थानीय स्तरबाट मन्त्रीको टुंगो लगाउन नसकेपछि केन्द्रबाटै नाम टुंगिएको हो । 

माओवादीले बिहीबार नाम टुंगो लगाएपनि कांग्रेसले आइतबार बिहान मात्र नाम टुंगो लगाएपछि मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषद बिस्तारको तयारी गर्नु भएको हो । यसअघि लुम्बिनी प्रदेशमा जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा सहसराम यादव, कृषि खाध्य प्रविधि तथा भूमि व्यवस्थामा सुमन शर्मा रायमाझी र श्रम रोजगार तथा यातायातमा पुर्मती ढेंगा मगर मन्त्री बन्नु भएको छ । 

त्यस्तै, स्वतन्त्रबाट पश्चिम नवलपरासीका अजय शाही उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्छ । थप मन्त्रीहरुको दिउँसो तीन बजे सपथका लागि प्रदेश प्रमुखको कार्यालयमा तयारी भईरहेको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताउनु भएको छ ।


प्रतिक्रिया