रौतहटमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2021/third-party/car3-1636866222.jpg&w=700&height=600)
कार्तिक २८, २०७८ | रौतहट
रौतहटको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोक नजिक शनिबार राति कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको यू.के.१२ सी २९०० नम्बरको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा त्यसमा सवार चारै जना भारतीय नागरिकको मृत्यु भएको हो ।
मृतक चारै जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चिमरियाले बताउनुभयो । शनिबार राति सवा १० बजेतिर तीब्र गतिमा आउँदै गरेको सो कार अनियन्त्रित भई सडकबाट करीब २० मिटर तल पानीमा खसेको थियो ।
सडकबाट कारको सबै भाग पानीमा डुबेपछि भित्र रहेका मानिसहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । डीएसपी चिमरियाका अनुसार मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
मदिरा सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा मृतहको सनाखतको प्रयास भईरहेको रौतहट प्रहरीले जनाएको छ ।