रौतहटमा जन्ती बोकेको जिप दुर्घटना, मृतकको संख्या ६ पुग्यो

पुस १३, २०७८ | रौतहट

रौतहटको गरुडा नगरपालिका–१ स्थित जयनगर सडकखण्डमा भारतीय नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जन्ती बोकेको जिप दुर्घटनामा घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा गढीमाई नगरपालिका–३ का १५ वर्षीय शेख अजिबुल्लाह रहेको ईलाका प्रहरी गरुडाका डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो । घाइते उनलाई थप उपचारको लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा गढीमाइ नगरपालिका–३ का १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मिया अन्सारी र २५ वर्षीय सेख छोटुको मृत्यु भएको हो । एक जनाको सनाखत हुन बाँकी छ । 

जन्ती लिएर जाँदै गरेको जिप तीब्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । डीएसपी भण्डारीका अनुसार दुर्घटनामा घाइते गढीमाई–३ का १६ वर्षीय शेख अलफाजको अवस्था चिन्ताजनक छ । 

उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । अर्का घाईते शेख अमानतको पनि टाउको र शरीरको भित्री भागमा गहिरो चोट लागेको छ भने शेख करिमुल्लाहको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

घाईते सबैलाई थप उपचारको लागि वीरगञ्ज लगिएको छ । गम्हरियाका मोहम्मद सलाउद्धिनका छोरा मोहम्मद इमरानको बिहेको जन्ती बोकेर घर फर्कदै गर्दा दुर्घटना भएको हो । 


प्रतिक्रिया