माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर चयन

पुस १८, २०७९ | रुपन्देही

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रोल्पाको जोखबहादुर महरा सर्वसम्मत चयन हुनु भएको छ । सोमबार बिहान दाङको देउखुरीमा बसेको माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेता चयन गरेको छ । 

माओवादीमा प्रत्यक्ष तर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउन सकेको थिएन् । स्रोतका अनुसार सबै प्रदेश सभा सदस्यले दाबी नछोडेपछि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा महरालाई नेता चयन गरिएको हो । 

महरा रोल्पा १ (१) बाट निर्वाचित हुनु भएको थियो । लुम्बिनी प्रदेश सभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ जना र समानुपातिक तर्फ ४ गरी ९ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । 

माओवादीले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न बाँकी रहेको माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनुभयो । संसदीय दलको नेतामा निर्वाचित महरा माओवादीको स्थायी कमिटी सदस्य एवं अध्यक्ष पुष्पकमल दाहालको सचिवालमा बसेर लामो समय काम गर्नु भएको थियो । 


प्रतिक्रिया