ढुंगा झरेर अरुण तेश्रोमा मजदुरको मृत्यु

वैशाख २०, २०८०

संखुवासभाको मकालु गाउँपालिकामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा एक मजदुरको मृत्यु भएको छ । अडिट २ को सुरुङमार्गमा काम गर्ने क्रममा सिलिचोङ गाउँपालिका ५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक सरोज खनालले बताउनुभयो । मकालु गाउँपालिका ५ आमाराङ स्थित अडिट २ को सुरुङभित्र गएराति माथिबाट ढुङ्गा खसेर सिलिचोङ ५ का राई गम्भीर घाइते भएका थिए । 

ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो । सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुर घाइते भएका छन् । भारतको आसाम गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीय साइमुदिन अली घाइते भएका हुन् । घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ । अर्का घाइते अलीको खुट्टा र हातमा चोट लागेको छ । अरुण आयोजना स्थलमा अहिलेसम्म २ दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन् । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् ।


प्रतिक्रिया