मेयर नेपाली सहित ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार

जेष्ठ ८, २०८०

गृहमन्त्रालयले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहित बागलुङमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन अध्यागमन बिभागलाई पत्राचार गरेको छ । शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा विभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो । केही दिनदेखि नेपाली सहित सहकारीका पदाधिकारी सम्पर्क बिहिन छन् । ढोरपाटन नगरपालिका १ र बागलुङ नगरपालिका २ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका नेपाली भागेर बिदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिनुभयो । सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ । भुक्तानी खोज्ने बचतकर्ताले गत बैसाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रति व्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैयाँ बचत संकलन गरेको छ । १८ प्रतिशत व्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतवार बेलुकी पनि बचतकर्ताले जिल्ला प्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए । 


प्रतिक्रिया