बजेट सक्दो सन्तुलित ल्याइएको छः प्रधानमन्त्री

असार १०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा ल्याएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलन कायमका लागि थप प्रयास गरिने उल्लेख गर्नुभयो ।
राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद्हरु सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का टिप्पणी नगर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैँकको व्यवस्था गरी तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बतनउनुभयो । त्यस्तै, प्रधानमन्त्री ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्न भनेर ल्याएपछि नराम्रो गर्ला जस्तो लागेर हटाइएको उल्लेख गर्नुभयो ।