आइतबारबाट थुनछेक बहस हुने

जेष्ठ १९, २०८०

नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको अदालत समक्ष बयान सकिएको छ । गत जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदातलमा सुरु भएको उनीहरुको थुनछेक बहस अघिको बयान सकिएको हो । बयानको अन्तिम दिन आज पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित शरणर्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान लिइएको काठमाडौं जिल्ला अदालतका वैतनिक वकिल शंकर पौडेलले जानकारी दिनुभयो ।

शरणार्थी प्रकरणमा अझै १२ जना फरार रहेको काठमाडौं प्रहरीले जनाएको छ । आज बयान सकिएसँगै पर्सी आइतबारबाट सरकारी वकिलले समय नलिएको खण्डमा थुनछेक बहस सुरु हुने पौडेलले बताउनुभयो । आइतबारबाट हुने थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । शरणार्थी प्रकरणका प्रतिवादी बनाइएकामध्ये केशव तुलाधार, अशोक पोखरेल, धिरेन राई, दीपाञ्जली हुमागाईं, निरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशीष बुढाथोकी, बिनिता सामदेव लिम्बु, निरन्जरकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् ।


प्रतिक्रिया