जीप चालक र अङ्गरक्षक खतरामुक्त

असार ६, २०८०

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसंगै जीप दुर्घटनामा परेका दुई जना खतरामुक्त भएका छन् । बझाङको केदारस्युँ गाँउपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँके स्थित कोहोलपुुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले बताउनुभयो । उहाँका अनुसार घाइते दुबै जनालाई सघन उपचार कक्षमा राखिएर उपचार भइरहेको छ ।

 जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक हुन् भने भण्डारी अंगरक्षक हुन् । धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा हिजो निधन भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजु पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजादंै गर्दा बाटोमै मृत्यु भएको थियो ।


प्रतिक्रिया