पाल्पामा सुख्खा पहिरोले जीप च्याप्दा तीन जना घाइते

श्रावण २२, २०८० | पाल्पा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज बिहान सुख्खा पहिरोले गाडी च्याप्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको बोलेरो जीप पहिरोमा च्यापीएको हो ।

पहिरोमा परेर जीपमा सवार तानसेन नगरपालिका १४ अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउापालिका ४, रुपन्देहीका २४ वर्षीय चन्दन कार्की र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७, का ३२ वर्षीय विवेक कार्की घाइते भएका छन् ।

घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्र नजिकै ढुंगासहितको पहिरो खसेर जीप च्यापीएको प्रहरीले जनाएको छ । केही समय अवरुद्ध भएको राजमार्ग ढुंगा फालेर एकतर्फि खुलाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया