संविधानको व्यवस्थाअनुरुप जिल्ला न्यायाधीश नियुक्त गरिएको सरकारको दाबी

आश्विन १५, २०८० | काठमाडौं

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरूको नियुक्ति संविधानको व्यवस्थाअनुरूप गरिएको बताउनुभएको हो । न्याय सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण हुन नसकेकालाई पनि जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै समिति बैठकमा सांसदहरूले विरोध जनाएका थिए ।

सांसदहरुले न्याय परिषद् र न्याय सेवा आयोगलाई नै समिति बैठकमा बोलाएर यसबारे छलफल गर्नुपर्ने बताएका थिए । सो विषयमा जवाफ दिँदै मन्त्री गुरुङले संविधानको व्यवस्था अनुसार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभयो ।

एमाले सांसद महेश बर्तौलाले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा अनुत्तीर्ण भएकालाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनुभयो । जिल्ला न्यायाधीश नियुक्तिका विषयमा समितिले न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया