सजाय मिनाहाको व्यवस्था दुरुपयोगः रास्वपा

आश्विन १५, २०८० | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवसका अवसरमा गरिने सजाय मिनाहाको व्यवस्था दुरुपयोग भएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
सो पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टोलीले आज शितलनिवासमा राष्ट्रपति पौडेललाई भेटी सरकारको सिफारिसमा हुने कैद सजाय मिनाहाबारे ध्यानाकर्षण गराएको हो । स्वतन्त्र पार्टीले राजनीतिक स्वार्थका आधारमा सजाय माफी दिने कार्य रोक्न समेत राष्ट्रपतिलाई आग्रह गरेको छ ।
गम्भीर अपराधमा संलग्न व्यक्तिलाई समेत संविधान दिवसका दिन माफी दिइएको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ । सो पार्टीले सजाय मिनाहाको बिषयमा संसदमा संकल्प प्रस्ताव समेत दर्ता गर्ने भएको छ ।