सूर्य उपासनाको पर्व छठ सुरु, पहिलो दिन नहाय खाय

मंसिर १, २०८० | काठमाडौं

सूर्यको उपासना गरी मनाइने छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ । पछिल्लो समय तराई मधेश लगायत काठमाडौंमा पनि छठ पर्व विशेष रुपमा मनाउने गरिन्छ । 

शुद्ध, सात्विक र पवित्र भई गरिने सूर्य पूजाको उपासना छठको व्रत गर्नाले आफ्ना मनोकामना पूरा हुने र सुख शान्ति प्राप्ति हुने जनविश्वास छ । बिहान स्नानपछि लौकाको तरकारी, दाल र भात खाइ तराई–मधेस लगायत मुलुकभरका व्रतालुले यो पर्व सुरु गरेका छन् । 

चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरु नुहाएर चोखो हुन्छन् । चोखिएपछि शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । यो विधिलाई ‘नहाय खाय’ भनिन्छ । दोस्रो दिन भोलि खरना अन्तरर्गत उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यलाई आहृवान गरिन्छ । 

तेस्रो दिन पर्सि आइतबार पर्वमा प्रयोग हुने विभिन्न किसिमका परिकार घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । यसलाई संझियाघाट भनिन्छ । अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ व्रत समापन हुन्छ । 

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा, भुसुवा र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको तथा पिधिँएको चामल, गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । 

पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ मनाउने गरिन्छ । विभिन्न खोलानाला, जलाशय र पोखरीको किनारमा गरिने छठको अनुष्ठानका लागि बाराका पोखरी र खोलानाला सजाउने काम भइरहेको छ ।


प्रतिक्रिया