दूध उत्पादक किसानद्वारा संघर्षका सबै कार्यक्रम स्थगन

फाल्गुन २०, २०८० | काठमाडौं

सरकारसँग ५ बुुँदे सहमतिपछि दूध उत्पादक किसानहरुले संघर्षका सबै कार्यक्रम स्थगन गरेका छन् । आफुहरुले पाउनुपर्ने बक्यौता रकमको भुक्तानी आगामी चैतभित्र दिने सरकार र उद्योगीबीचको सहमतिपछि किसानहरुले विरोधका सबै कार्यक्रम स्थगन गरेका हुन् ।

 कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उद्योगी र किसानबीच हिजो राति भएको वार्तामा सबै उद्योगले गत पुस मसान्तसम्मको बक्यौता आगामी चैत २१ गतेभित्र भुक्तानी दिईसक्नुपर्ने सहमति भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि मन्त्रालयका सचिवबीच पाँच बुँदे सहमति भएको हो ।

उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने विषयमा सहमति भएको हो ।

यस्तै, निर्यात प्रवर्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको मन्त्रालयका सचिव रेवतीरमण पौडेलले जानकारी दिनुभयो । यसअघि भुक्तानीको माग गर्दै किसानले फागुन ८ देखि चरणबद्ध आन्दोलन गर्दै आइरहेका थिए । 


प्रतिक्रिया