राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

चैत्र १४, २०८०

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको निष्कर्षसहित मन्त्रीस्तरीय बैठकले सो कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन, कार्यक्रमको प्रभावकारिता विश्लेषण तथा स्थानीय तहसँगको छलफलमा उठाएका बिषय सम्वोधन गर्न कार्यक्रम स्थगन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनौट कार्यमा ढिलाइ भएको मन्त्रालयले स्पष्ट पारेको छ । यसैबीच, मन्त्रालयले विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनका लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ । विद्यालय शिक्षा स्थानीय तहको क्षेत्राधिकारमा रहेकाले स्थानीय तहको माग र आवश्यकताका आधारमा कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक देखिएको समेत मन्त्रालयले जनाएको छ । 

बैठकले आगामी आर्थिक वर्षमा मुसहर, चेपाङ लगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमूना सामुदायिक विद्यालय सञ्चालन गर्न आवश्यक बजेटका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । 


प्रतिक्रिया